प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेको माग

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कुन हैसियतमा हुन लागेको भन्दै प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले देउवाको भ्रमण प्रधानमन्त्री कि रक्षामन्त्रीको हैसियतमा हुन लागेको भन्दै यसबारे जानकारी गराउन संसदमा माग गरेका हुन् ।

एमाले सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको बताए ।

‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ?,’ ज्ञवालीले प्रश्न गरे, ‘यसबारे सदनले थाहा पाउन जरूरी छ।’ प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयसमेत हेर्दै आएका छन्।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन।

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो संसदलाई जानकारी गराउनुपर्ने ज्ञवालीले बताए । साथै उनले यस्ता महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेको उनको भनाइ थियो ।

देउवाको अमेरिका भ्रमणबारे र त्यहाँ हुने भनिएका सम्झौताको चर्चाले कतै नेपालको परराष्ट्र नीतिमा खलल पुग्ने हो कि भन्ने आशंका ज्ञवालीले जनाएका छन् ।

प्रकाशित : 12 June, 2022

प्रतिक्रिया दिनुहोस्