केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने एमालेको अडान

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, नेकपा एमालेले बजेटमा उठेका प्रश्नमा अर्थमन्त्री जर्नादन शर्माको जवाफ अस्वीकार गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष एमालेले अर्थमन्त्री शर्माले जवाफ दिने विषय कार्यसूचीबाट हटाउन माग गर्दै जवाफ सुन्न अस्वीकार गरेको हो ।

बजेट माथिको छलफलमा आज अर्थमन्त्री शर्मासहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची छ । तर एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा करको दर हेरफेर गरेको विषयमा स्पष्टीकरण नदिएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने माग गरेको हो ।

संसद बैठक सुरु भएलगत्तै एमाले सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको विषय राष्ट्रिय सुरक्षा जत्तिकै गोपनीय हुनु पर्ने भन्दै अर्थमन्त्री पदमा बसिरहन नमिल्ने जिकिर गरे । लगत्तै एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । एमाले सांसदहरु उभिएपछि सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

भट्टराईले अर्थमन्त्रीले जवाफ दिने विषय कार्यसूचीबाट हटाउन सभामुख सापकोटालाई आग्रह गरे ।

सभामुखले बस्नलाई गरेको आग्रहलाई मान्ने तर कार्यसूचीबाट अर्थमन्त्रीले जवाफ दिने विषय हटाउन माग गरेपछि सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताए । त्यसपछि भने एमाले सांसदहरु आफ्नो कुर्सीमा बसेका थिए ।

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्