चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौँमा

सहयात्रा टिभी

काठमाडौँ । असार २६, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल आइपुगेका छन् ।

चारदिने नेपाल भ्रमणका लागि विमानमार्फत आज बिहान साढे १० बजे लिउ काठमाडौं आइपुगेका हुन् ।

आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउले आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटवार्ता गर्ने छन् ।

लिउ त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट द्वारिकाज होटलमा गएका छन् । त्यहाँ आराम गरेर बेलुकीबाट उनले भ्रमणको सुरुवात गर्ने कूटनीतिक स्रोतले बतायो ।

नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने स्रोतले जानकारी दिएको छ।

लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडियो वार्ता गरेका थिए। उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै भिडियो कुराकानी गरेका थिए।

लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन्। चीनमा उनको हैसियत मन्त्रीसरह हुन्छ।

५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कुटनीतिज्ञ हुन्। गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए।

लिउको भ्रमणपछि परराष्ट्रमन्त्री खड्का चीन जाने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

प्रकाशित : 10 July, 2022

प्रतिक्रिया दिनुहोस्