आज दिउँसो मन्त्रिपरिषद् बैठक हुदै, आगामी निर्वाचनको मिति तय हुने सम्भावना
सहयात्रा टिभी
काठमाडौं । साउन १९, आज दिउँसो मन्त्रिपरिषदको बैठक बस्ने तयारी हुदै, बैठकमा आगामी निर्वाचनको मिति तय हुने सम्भावना देखिएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।
आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तय हुने सम्भावना छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे निर्णय हुनसक्ने बताए ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ । चुनाव मंसिर ४ मा गर्नेबारे बुधबारको सत्ता गठबन्धनको बैठकमा सहमति भएको थियो । निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो ।
चुनावको मिति घोषणापछि पनि संसद कायमै रहने सत्ता गठबन्धनका नेताहरुको बुझाइ छ ।