इन्धनको मूल्य घटाउन सरकारले पहल गर्नुपर्छ: नेता सिंह

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महंगीबाट जनतालाई राहत दिन स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गरिनु पर्ने बताएका छन्।

सरकारले चाहेमा महँगीको मारमा परेका जनतालाई राहत दिन सक्ने बताउँदै उनले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर – १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका हुन्। नेता सिंहले भने, ‘अटोमेटिक प्रोसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्यो ।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ ।

उनले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको जोड छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।

बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो । त्यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षमा थप २० लाख रुपैयाँ छुट्याएको उनले बताए ।

प्रकाशित : 20 August, 2022

प्रतिक्रिया दिनुहोस्