नागरिकता विधेयक ल्याइ नेपाललाई सिक्किम र फिजी बनाउने गरी काम गरिरहेको आरोप : ईश्वर पोखरेल
काठमाडौं । भदौ २४, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाएका छन् । नेपाललाई सिक्किम वा फिजी बनाउने गरी सरकारले काम गरिरहेको उनको आरोप छ ।
संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको आरोप पनि उनले लगाए । उनले संसदका दुवै सदनबाट बहुमतले पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रिय हीत र स्वाभिमान विपरीत रहेको दाबी गरे ।
एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको उनले बताए ।
काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति पनि जनाए । उनले सत्तामा रहेकाहरुले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको उनको अर्को आरोप छ ।