राप्रपाले ‘लोकप्रिय’ व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाउने

काठमाडाै । ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पटक-पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने भएको छ।
गत बुधबार बसेको संसदीय समितिको बैठकले ‘नयाँ अनुहार’लाई प्राथमिकता दिनेबारेमा छलफल गरेको थियो।
‘पटक-पटक अवसर पाएकाहरूलाई पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार नबनाउने विषयमा छलफल भएको छ। पार्टीमा मत बढाउन सक्ने समाजका लोकप्रिय व्यक्तिहरूलाई समानुपातिकतर्फ प्राथमिकता दिइन्छ,’ राप्रपाका एक पदाधिकारीले भने।
यही मापदण्डमा आधारित भएर राप्रपाले समानुपातिकतर्फ उम्मेदवारको सूची पेश गरिने बताएको छ। निर्वाचन आयोगले यही असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न दलहरूलाई आग्रह गरेको छ। राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारहरू चयनका बारेमा भने पछि नै मापदण्ड बनाउने भएको छ।
एमालेसँग तालमेल!
राप्रपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच केही समयअघि बालकोटमा भएको भेटमा पनि चुनावी तालमेलबारे कुराकानी भएको थियो। त्यसयता विभिन्न समयमा एमालेका नेताहरूसँग राप्रपाका नेताहरूले चुनावी तालमेलका बारेमा कुराकानी गरेका छन्।
‘एमालेसँग तालमेलका बारेमा कुराकानी भइरहेको छ। हामीले २० सिट हाराहारी चाहिन्छ भन्ने प्रस्ताव गरेका छौं,’ राप्रपाका एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘हाम्रो मत जोड्दा एमालेलाई पनि धेरै ठाउँमा फाइदा हुन्छ। तालमेल गर्ने नै हो भने राप्रपालाई पनि केही फाइदा हुने गरी गर्नुपर्यो भन्ने हो।’