एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो कार्यदल
काठमाडाै । असोज ८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न कार्यदल गठन गरेको छ। लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन्।
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ। नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त्यसले चुनावी तालमेलमा असर नगर्ने लोसपाका वरिष्ठ नेता महतोले बताए। नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने उनको तर्क छ।
लोसपाका वरिष्ठ नेता महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे।
‘हिजो एमालेले ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेका हुन्। यस पटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकियो,’ महतोले भने, ‘यो प्रकरण चुनावसँग जोडिदैन। हामी तालमलेका लागि सबैसँग खुला छौ। चुनावी तालमेल भनेको भोटको लेनदेन हो।’ उनले चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने समेत बताए। सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिदै गएको उनले बताए।
‘सत्ता गठबन्धनको आफैंभित्र मारामार छ। हामी कहिलेसम्म कुरेर बस्ने? चुनावी तालमेलका लागि एमालेसँग प्रयास भइरहेको छ,’ उनले भने, ‘कांग्रेस र माओवादीको एजेण्डा नमिलेजस्तै हामी र एमालेको नमिल्न सक्छ। तर चुनावी तालमेल अलग कुरा हो।’
नागरिकता विधेयकमा सैद्धान्तिक रूपमा फरक भए पनि चुनावी तालमेलसँग यो विषय जोड्न नहुने लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णको भनाई छ। लोसपाका अर्का कार्यकारिणी सदस्यल केशव झाले नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा आउनेलाई समर्थन गर्ने र एमालेसँगको तालमेल पनि अघि बढ्ने बताए। उनले पनि एमालेसँगनै आफूहरूले चुनावी तालमेल हुनेर यसका लागि प्रयास भइरहेको बताए।