ताप्लेजुङका ४ मतदान केन्द्रको मतपेटिका भोलि मात्र मतगणना स्थल आइपुग्ने

ताप्लेजुङ । मंसिर ५, जिल्लाका ४ वटा मतदानस्थलको मतपेटिका ढुवानीका लागि हेलिकप्टर नआउने भएकाले अब ती क्षेत्रको मतपेटिका छिटोमा मंगलबार अबेरमात्र आइपुग्ने सम्भावना छ । फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला,याङ्मा तथा वडा नं. ६ को ग्याब्ला र घुन्साको मतपेटिका मंगलबार अबेर मात्र आइपुग्ने सम्भावना छ ।
हेलिकप्टर मार्फत ल्याउने भनिए तापनि पैदलमार्ग मार्फत नै ल्याउनुपर्ने भएको प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए । प्रजिअ पोखरेलले भने,“इलाडाँडामा ४ वटै मतदान केन्द्रको मतपेटिका संकलन हुन्छ । त्यहाँबाट गाडीमा मंगलबार बेलुकी आइपुग्छ ।” बाँकी १ सय १९ वटा मतदान केन्द्रको मतपेटिका विहान सोमबार विहान ३ बजे सदरमुकाम ल्याइएको छ । जिल्लामा ४८ हजार ३ सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए । जुन ५५ प्रतिशत मत हो ।
जिल्लामा ८८ हजार २ सय ८५ वटा मतदाता थिए । याङ्मामा १२ जना,ओलाङचुङगोलामा ९७ जना, घुन्सामा ६० जना र ग्याब्लामा २२ जनाले मतदान गरेका छन् । ओलाङचुङगोलामा २ सय ८४ र याङमामा ६१ जना मतदाता थिए । ग्याब्लामा ६७ जना मतदाता र घुन्सामा १ सय ६९ जनाको मतदाता नामावलीमा नाम उल्लेख छ ।