निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र दाङ क्षेत्र नम्बर २ मा फेला

काठमाडौँ । मंसिर ६, दाङ क्षेत्र नम्बर २ को मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ।
हस्ताक्षर नभएका मतपत्रबारे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिनुभयो । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उहाँको भनाइ छ ।
मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । करिब आधा घण्टा मतगणना रोकिएको थियो ।