मतगणना अन्तिमतिरको अवस्था हेर्दा सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन कठिन

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १४, प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रको मतगणना आउन बाँकी छ। सुनसरी-४ मा मतगणना जारी छ भने दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू हुन सकेको छैन।

 

दोलखाका १० केन्द्रमा बिहीबार पुनस् मतदान हुँदैछ। प्रतिनिधि सभाकै समानुपातिकतर्फका मतगणना पनि अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म एक करोड ४२ हजार पाँच सय १४ मत गणना गरिएको छ।

केही केन्द्रमा चुनाव हुन बाँकी दोलखा, मतगणना नै सुरू नभएका स्याङ्जा-२ र बाजुराबाहेक पनि देशका केही क्षेत्रमा समानुपातिकतर्फको मतगणना जारी नै छ।

अहिलेसम्मको अवस्था हेर्दा सत्ता गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी) का पक्षमा बहुमत पुग्ने कठिन देखिएको छ।

प्रत्यक्षतर्फ कांग्रेसले अहिलेसम्म ५४ सिट जितेको छ। माओवादीले १७, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्।

समानुपातिकतर्फ सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छैन। थ्रेसहोल्ड नकटाउँदा यी दलले समानुपातिकतर्फ सांसद पाउने छैनन्।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसले समानुपातिकतर्फ ३२ सांसद पाउने र माओवादीले १४ सांसद पाउने अवस्था छ।

सत्ता गठबन्धनमा रहेका ५ दलले प्रत्यक्षतर्फ कुल ८६ सिट जितेका छन्। समानुपातिकतर्फ सत्ता गठबन्धनका दलले कुल ४६ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी सत्ता गठबन्धनका पक्षमा १३२ सिट पुगेको छ।

मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई भ्रष्टाचार मुद्दा रहेकाले उनी संसद छिर्न पाउँदैनन्। उनी संसद जान नपाउने भएपछि सत्ता गठबन्धनलाई थप एक सिट कम हुन्छ।

१७५ सदस्यीय संसदमा बहुमत पुर्‍याउन १३८ सिट आवश्यक हुन्छ। अझै ३ सिट आश्यक पर्छ। यसो हुँदा सत्ता गठबन्धनले थप नयाँ दल वा स्वतन्त्रबाट जितेकाहरूलाई गठबन्धनमा ल्याउनु पर्ने हुन्छ।

 

प्रकाशित : 30 November, 2022

प्रतिक्रिया दिनुहोस्