कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १५, निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ ।

बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भए ।

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए ।

कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।

मन्त्री कार्कीको जितसँगै कुसियैतको सत्तारोहणको सम्भावना टुंगिएको छ । मन्त्री कार्कीले सम्भावनाको ढोका खोलेका छन् । सुनसरी ४ बाट निर्वाचन जित्नेहरू सबै सत्तामा पुगेका छन् । स्व. गिरिजाप्रसाद कोइराला ०४८, ०५१ र ०५६ साल गरी तीनपटक यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

कोइराला पाँच पटक प्रधानमन्त्री बने । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा यहाँबाट विजयी भए । ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भए । विजयी कार्की र पराजित कुसियैत दुवै राजनीतिको केन्द्रमा छन् ।

स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने रामधुनीबाहेक सबै पालिकामा कांग्रेस विजयी भएको थियो । कोशी गाउँपालिकामा ऐयुब अन्सारी दोस्रो पटक अध्यक्षमा निर्वाचित भए ।

हरिनगर गाउँपालिकामा गफार अन्सारी पनि दोस्रो पटक अध्यक्षमा विजयी भए । सुनसरी ४ को प्रदेश सभामा १ बाट कांग्रेसका सदानन्द मण्डल निर्वाचित भए भने प्रदेश सभा २ बाट कांग्रेसकै इसराइल मन्सुरी निर्वाचित भइसकेका छन् ।

सुनसरी ४ मा रामधुनी नगरपालिकाका ४, बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ पर्छन् । कोशी गाउँपालिकाका सबै वडा यसै क्षेत्रमा पर्छन् ।

इनरुवा ३, ४ र ८, भोक्राहा गाउँपालिकाका सबै वडा र हरिनगरका १, २, ४, ५, ६ र ७ पनि यसै क्षेत्रमा पर्छन् । यो वडाको सबै मत गणना सक्दा कार्की ११२ मतले विजयी भए । कार्कीको कुल ३० हजार ४८३ मत आयो भने कुसियैतले ३० हजार ३७१मत ल्याए ।

प्रकाशित : 1 December, 2022

प्रतिक्रिया दिनुहोस्