राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का

काठमाडौँ । मंसिर २२, संख्या ६० सिट रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् ।
अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको थियो । जसमा बागलुङ १ (१) बाट कृष्ण थापा र २ (२) बाट टेकबहादुर घर्ती प्रत्यक्ष निर्वाचित भएका थिए भने पियारी थापा समानुपातिक सांसद बनेकी थिइन् ।
घर्तीको मृत्यु भएपछि रिक्त पदका लागि भएको उपनिर्वाचनमा खिमबहादुर शाही निर्वाचित भएका थिए । अघिल्लो पटक गण्डकी प्रदेश सभामा समानुपातिकसहित ३ सिट पाएको जनमोर्चाले यसपटक भने एउटा पनि सिट जित्न सकेन ।
जनमोर्चाले प्रदेश सभामा समानुपातिकतर्फ यसपटक पनि पियारी थापालाई पहिलो नम्बरमा राखेको थियो । तर, जनमोर्चाले ‘थ्रेस होल्ड’ कटाए पनि अन्य पार्टीको मतभार बढी भएकाले समानुपातिक सांसद नपाएको हो । समानुपातिकतर्फ जनमोर्चा सातौं नम्बरमा छ । जनमोर्चाले कुल १४ हजार ९४० समानुपातिक मत पाएको छ ।
समानुपातिकतर्फ जनमोर्चाभन्दा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले बढी मत पाएको छ । पाँचौं नम्बरमा रहेको लौरो अभियानले पनि जनमोर्चाझैं थ्रेसहोल्ड कटाए पनि सांसद पाउन सकेन । लौरो अभियानले १८ हजार ७३७ समानुपातिक मत पाएको छ ।
समानुपातिकतर्फ चौथो स्थानमा रहेको राष्ट्रिय जनमोर्चाले भने प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकबाट २ सांसद पाउनेछ । राप्रपाले कुल ५९ हजार ४८३ समानुपातिक मत पाएको छ । छैटौं नम्बरमा रहेको नेकपा एकीकृत समाजवादीले १५ हजार ७६ मत पाएको छ ।