नेसपाका अध्यक्ष बाबुराम भट्टराईको नयाँ राष्ट्रपति बन्ने चर्चा

काठमाडौं । मंसिर २६, नयाँ सरकार गठनको रस्साकस्सीसँगै प्रमुख संवैधानिक पदहरू कसको पोल्टामा पर्ने भन्ने विभिन्न आङ्कलनहरू सुरु भएका छन् । यसबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको नयाँ राष्ट्रपति बन्न सक्ने चर्चा हुन थालेको छ ।
नयाँ सरकारको नेतृत्व कसले गर्छ भन्नेमा नै संवैधानिक पदहरूको बाँडफाँट निर्भर हुनेछ । हुन त गोरखा क्षेत्र नम्बर–२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेसँगै बाबुराम ‘राष्ट्रपति’ को दाबेदार बन्न सक्ने आङ्कलन गरिएको थियो ।
छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ–७ बाट निर्वाचित गराएर राष्ट्रपतिमा जाने योजना बनाएकाले निर्वाचन नलडेको हुन सक्ने धेरैको अनुमान थियो ।
प्रचण्ड गोरखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पनि मानुषी भने निर्वाचित हुन सकिनन् । माओवादीले आफूले सोचेभन्दा कम सिट ल्याए पछि सत्ताको बार्गेनिङ गर्ने प्वाइन्टमा पुग्न सकेको छैन ।
माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने स्पष्ट भए पनि पहिलो चरणमा प्रधानमन्त्री कसले लिने भन्ने विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन ।
गत आइतबार प्रेस सेन्टरको एक कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले सबै परिणाम बुझाएपछि सरकारको नेतृत्वको विषयमा समझदारी गरेर अघि बढिने बताएका थिए।
प्रचण्ड पहिलो चरणमै सरकारको नेतृत्व लिने अडानमा छन् । आलोपालो प्रधानमन्त्रीको नेतृत्व गर्दा पहिलो चरणमा नपाए सरकारमा नजाने प्रचण्डले सङ्केत दिइसकेका छन् ।
पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व नपाएमा पछि प्रधानमन्त्री बन्न निक्कै सकस हुने भएकाले आफ्नो अडान नछाड्ने सङ्केत दिएका छन् । बरु कांग्रेस र एमालेले सरकार बनाए आफू सदन र सडकको मोर्चालाई बलियो बनाउने प्रचण्डले बताएका थिए ।
माओवादी संसदीय अङ्कगणितमा तेस्रो भएकाले पहिलो चरणमै सरकारको नेतृत्व प्रचण्डले पाउने सम्भावना भने सहज छैन । तत्काललाई कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था देखिएको छैन । यस्तोमा प्रधानमन्त्री कांग्रेसले लिएर राष्ट्रपति माओवादीले तथा सभामुख एकीकृत समाजवादीले पाउन सक्ने अवस्था छ । त्यसैले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुने नै प्रधानमन्त्रीको कुर्सीमा पुग्ने देखिएको छ ।
राष्ट्रपति माओवादी पोल्टामा परेमा बाबुराम नै हुन सक्ने नेपाल समाजवादीका एक नेताले रातोपाटीलाई बताए । प्रचण्ड, बाबुराम र देउवाबीच नयाँ राष्ट्रपतिमा उनलाई अघि सार्ने विषयमा भद्र सहमति नै भएको ती नेताको दाबी छ । तीन नेताबीच कुन–कुन विषयमा भद्र सहमति भएको छ भन्ने विषयमा बाहिर खुलाइएको छैन ।
उता माओवादीबाट राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’, अग्निप्रसाद सापकोटालगायत नेताले समेत नजर लगाएका छन् ।नेपाल समाजवादी पार्टीका नेता एवम् प्रदेश सांसद गंगानारायण श्रेष्ठ भने बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने विषयमा भद्र सहमति भएकोबारे अनभिज्ञता प्रकट गरे ।