मतले जितेँ अब मनले जित्नेछु : प्रदीप पौडेल

काठमाडौं । पुस २, नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योग खोल्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए ।
उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे । निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने भन्दै पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए । उनले मत प्राप्त गरेर चुनाव जितेको भन्दै अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए ।
“हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ । हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ । यो असाध्यै चुनोतीपूर्ण छ । हामीले मत प्राप्त गर्यौंं अब मन जित्न जरुरी छ,” उनले भने, “जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला तपाईंहरूको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ । हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ ।”
नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।