सांसदको सपथ ग्रहण गरेका असिम शाह चलचित्र क्षेत्रका एक्ला सांसद

काठमाडौं । पुस ७, फिल्म निर्माता तथा निर्देशक असिम शाहले प्रतिनिधिसभा सदस्यको रुपमा बिहीबार सपथ ग्रहण गरेका छन् । सांसदको सपथ लिन उनी बुवासँग संघीय संसद भवन, बानेश्वर पुगेका थिए ।
राष्ट्रिय पोशाक दौरा सुरुवालमा ठाँटिएका उनले नेपाली भाषामा सपथ लिए । मुस्लिम धर्मावलम्बी भएकाले ईश्वरको नामको ठाउँमा अल्लाह भनेर उनले सपथ लिए ।
मुस्लिम समुदायबाट उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चुनिएका हुन् । प्रतिनिधिसभा सदस्य बन्ने उनी चलचित्र क्षेत्रका एक्ला व्यक्ति हुन् ।
सांसदको सपथ लिएपछि उनले सबै चलचित्रकर्मीलाई भेटेर यसक्षेत्रको प्राथमिकता तय गर्ने बताए । साथै उनले आफूले कुन आवाज उठाउँदा यस क्षेत्रको प्रतिनिधित्व हुन्छ भनेर विचार गर्ने बताए ।
‘सबैभन्दा पहिला हामी कहाँनेर अप्ठ्यारोमा परेका छौं, कुन कानुनले हामीलाई गाह्रो बनाइराख्या छ । मैले के आवाज उठाउँदा ठीक हुन्छ भनेर काम गर्छु,’ उनले भने ।
असिमले निर्देशन गरेको फिल्म ‘दुई रुपैयाँ’ सफल व्यावसायिक फिल्म हो भने उनले निर्माण गरेको ‘कर्कश’ पनि राम्रो चलेको थियो ।
उनी सांसद भने पनि उनको कम्पनी जी–ट्वान्टीवान प्रोडक्सनले बनाउन लागेको फिल्म ‘डामाडोल’लाई शाहले निर्देशन गर्ने भएका छन् ।