आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रभु साहले नयाँ पार्टी सार्वजनिक गर्दै

सहयात्रा टिभी

काठमाडौं । पुस १४, स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् ।

त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ ।

यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरुसँग एकताका लागि सम्वाद गर्ने बताए ।

तत्कालीन नेकपा (माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

एमाले र माओवादीको एकता भंग भएपछि उनले एमाले रोजेका थिए । तर, गत मंसिर ४ को निर्वाचन अगाडि साहले एमाले छाडेको घोषणा गरेका थिए ।

 

प्रकाशित : 29 December, 2022

प्रतिक्रिया दिनुहोस्