ओली र गृहमन्त्री रविबीच भेटवार्ता : साझा नीति तथा कार्यक्रमबारे छलफल

काठमाडाै । पुस १६, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई नेताबीच शनिवार बिहान भेटवार्ता भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि र ओलीबीच गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तय गर्ने भएको छ । न्यूनतम साझा नीति र कार्यक्रम तय गर्ने जिम्मा ओलीलाई दिइएको छ । रवि र ओलीबीच उक्त विषयमा पनि छलफल भएको बताइएको छ ।
भेटमा गृहमन्त्री रवि र ओलीबीच गृहमन्त्रीका रूपमा गरेका कामको अनुभवसमेत आदनप्रदान भएको थियो । ओलीले २०५१ सालमा पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्रीको रुपमा कार्य गरेका थिए ।
ओलीलाई भेट्नुअघि रविले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका थिए ।