बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

सहयात्रा टिभी

काठमाडौँ । पुस २०, सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्नेबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तय भएको छ । सोही विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी छन् ।

बैठकमा विश्वासको मत प्राप्त गरे लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने गरी मन्त्रालय बाँडफाँटका विषयमा पनि कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि बुधबार नै प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए ।

अध्यक्ष नेपालसँग दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ले जानकारी दिए ।

प्रकाशित : 4 January, 2023

प्रतिक्रिया दिनुहोस्