पुस २५ भित्र मुख्यमन्त्रीमा दावी पेश गर्न गण्डकीका प्रदेश प्रमुखले आह्वान

काठमाडौँ । पुस २१, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् ।
प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ ।
गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।
प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भए पनि सत्ता गठबन्धनमा नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकार गठनका लागि आह्वान भए पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने नटुंगिएको बताए ।
एमाले संसदीय दलका नेता खगराज अधिकारी आफू छलफलमा रहेको बताए । गण्डकीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना सांसद मिलेर सरकार बन्ने सम्भावना छ । यसबाहेक ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ जना छन् ।