प्रचण्डले विश्वासको मत लिने तय भए सँगै गठबन्धन भत्काउन कांग्रेसको दौडधूप

काठमाडौं । पुस २२, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् ।
राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ । कांग्रेसका केही नेताहरुले प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्न प्रयास थालेका छन् ।
एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले सपथ लिएकै दिन ११ पुसमा कांग्रेसका केही केन्द्रीय सदस्यहरुबीच लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल गर्ने छलफल भएको थियो ।
त्यही छलफलका क्रममा गैरवामपन्थी सरकार बन्न सक्ने हिसाब देखाएपछि नेताहरुले त्यो सन्देश देउवासम्म पनि पु¥याएका छन् ।
एक केन्द्रीय सदस्य भन्छन्, ‘पाँच दलको गठबन्धन त टिकेन भने खुद्राखाद्री जोडेर कहाँ सम्भव छ भनेर सभापतिज्यूले धेरै रुचि दिनुभएन ।’
कांग्रेससम्वद्ध स्रोतका अनुसार अहिले पहिलो प्रयास प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्नु हो । यो कांग्रेसले सोचेजति सहज भने छैन । किनकि त्यसका लागि सरकारमै सहभागी दललाई मत दिनबाट रोक्नुपर्छ ।
संस्थापन पक्षकै दोस्रो तहका नेताहरुले भने रुचि दिए । उनीहरुले साना दलका नेताहरुसँग सम्वाद थाले । त्यसक्रममा बिहीबार कांग्रेस सभापति देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच संवाद भएको कांग्रेस सम्वद्ध स्रोतको दाबी छ । लिङ्देन निकटवर्तीहरु भने यसलाई स्वीकार गर्दैनन् ।
अहिलेको प्रतिनिधिसभामा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र जनमत पार्टीका ६ सांसद छन् । सबैले मत दिए १३७ हुन्छ ।स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहले साथ दिनासाथ प्रचण्डले विश्वासको मत पाउनेछन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि कांग्रेस अहिलेको समीकरण भत्काउने र नयाँ बनाउने काममा नलागेको बताउँछन् ।