प्रदेश १ को मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई भागवण्डाको टुंगो

सहयात्रा टिभी

काठमाडौं । पुस २४, प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।

बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँछन् ।

प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते ७ दिनको समय राखेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका संसदीय दलको नेता इन्द्रबहादुर आङ्बो एमालेले मुख्यमन्त्री लिने अनौपचारिक सहमति बनिसकेको बताउँछन् ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ । प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन् ।

 

प्रकाशित : 8 January, 2023

प्रतिक्रिया दिनुहोस्