राष्ट्रिय युवा संघको महाधिवेशन चैतमा हुने

सहयात्रा टिभी

काठमाडौं । माघ ६, नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ । युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा महाधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले बताए ।

यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो। त्यसयता सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भएका थिए ।

महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए । महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले पार्टी र सङ्घको हित विपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ । महाधिवेशनको तयारीका लागि सङ्घको केन्द्रीय बैठक आगामी माघ १९ र २० गते गर्ने निर्णय गरिएको छ ।

यसअघि अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घले राष्ट्रिय अधिवेशनको मिति तोकिसकेको छ । एमालेको जनसङ्गठनको पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको भेलाले जनसङ्गठनको राष्ट्रिय अधिवेशन/सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो । एमालेको आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी छ ।

प्रकाशित : 20 January, 2023

प्रतिक्रिया दिनुहोस्