नेपालमा ‘पठान’ सँगै बन्द रहेका ६ हल पनि भोलिदेखि पुनः सञ्चालन 

सहयात्रा टिभी

काठमाडौँ । माघ १०,  बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘पठान’ भोलि (बुधबार)देखि विश्वका १०० भन्दा बढी देशमा रिलिज हुँदैछ । भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट रिलिज हुन लागेको बलिउड सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या बलिउडका लागि अहिलेसम्मकै उच्च रहेको जनाइएको छ ।

 

नेपालमा समेत यो फिल्म १५० भन्दा बढी हलमा रिलिज हुँदैछ । पठानको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार बन्द भइसकेका ६ वटा नेपालका हल ‘पठान’सँगै पुनः सञ्चालन हुँदैछन्, जसमा मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरु छन् । भारतमा भने बन्द भइसकेका २५ हल ‘पठान’ रिलिजसँगै पुनः सञ्चालनमा आउन लागेको जनाइएको छ ।

हलहरु थपिएको र सोलो रिलिज भएकाले पनि पठानको कमाइमा कुनै अवरोध नआउने अनुमान ब्यांकटेस इन्टरटेनमेन्टको छ । नेपालमा पठानको क्रेज निकै उच्च देखिएको छ भने शाहरुख खानका फ्यानले प्रमुख मल्टिप्लेक्समा बुधबारका केही शो बुकिङ गरिसकेको समेत जनाइएको छ ।

झण्डै साढे दुई करोडमा खरिद गरिएको नेपाल राइटको लगानी उठाउन पनि फिल्मले न्यूनतम नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । सुरुवाती चार दिनमा फिल्मको कमाइ साढे चारदेखि पाँच करोड पुग्ने प्रक्षेपण गरिएको छ ।पठानलाई नेपालको सेन्सर बोर्डले २ घण्टा २७ मिनेट लम्बाइ तय गरिदिएको छ । दर्शकले झण्डै तीन घण्टा हलमा बिताउनुपर्नेछ ।

 

प्रकाशित : 24 January, 2023

प्रतिक्रिया दिनुहोस्