गृहमन्त्री लामिछाने : ‘हामी जस्ता नयाँहरुको आगमनले समेत आत्मदाहको निर्णय फेर्न सकेन’

सहयात्रा टिभी

काठमाडौँ । माघ ११, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्ण गर्न अब के नै बाँकी रह्यो ?’ भनेका छन् ।

आचार्यले मृत्यु हुनुअघि लेखेको नोटमा लामिछानेसहित नयाँ सांसदहरुलाई सम्बोधन गरेर ‘कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’ भनेका थिए । लामिछानेकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोशिमा कार्की मंगलबार साँझ अस्पताल पुगेका बेला पनि उनले लामिछानेलाई आफ्नो बारे भनिदिन भनेका थिए ।

‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन’, लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला ।’

 

प्रकाशित : 25 January, 2023

प्रतिक्रिया दिनुहोस्