२६औं वरीयतामा थन्क्याएका शेखरलाई नजिक्याउँदैछन् देउवा ?

काठमाडौं । माघ १२, नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसमा वरीयताले विशेष अर्थ राख्छ । सभापति पदमा आफूसँग हारेका शेखर कोइरालालाई शेरबहादुर देउवाले २६औं वरीयतामा थन्क्याइदिएका थिए । प्रतिस्पर्धीको अपमान गरेको आरोप देउवामाथि लागेको थियो ।
तिनै देउवा यति बेला शेखरलाई नजिक्याउन लागेका छन् । उनले यसको सुरुआत गरेका छन्, पार्टी कार्यालयमा शेखरका लागि छुट्टै कार्यकक्ष तोकिदिएर ।
उनले शेखरका लागि बितेको एक वर्षसम्म छुट्टै कार्यकक्षको कुनै खाँचो देखेनन् । अहिले भने केन्द्रीय कार्यसमिति बैठक कक्षसँगै शेखरको कार्यकक्ष तयार भएको छ ।
कार्यकक्षको व्यवस्था भए पनि शेखरले त्यसले उपयोग भने गरिसकेका छैनन् । दुई नेताको सम्बन्ध न्यानो हुने क्रममा कार्यकक्ष बनेको कांग्रेसमा टिप्पणी सुरु भएको छ ।