केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘पशुपति प्रसाद २ : भष्मे डन’ बन्ने

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, लोकप्रिय सिनेमा ‘पशुपति प्रसाद’ को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’ निर्माणको आधिकारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा निर्माण कम्पनी टुकी आर्ट्स प्रालिले गरेको एक कार्यक्रमका क्रममा फिल्म निर्माण पक्षले सिनेमाको ‘कास्ट एन्ड क्रु’ र रिलिज डेट पनि सार्वजनिक गरेको छ ।

सात वर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक र समीक्षात्मक रूपमा अब्बल सावित भएको थियो । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने फ्रेञ्चाइजको नाम ‘पशुपति प्रसाद २ : भष्मे डन’ जुराइएको छ ।

अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने सिनेमाको शीर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनेछन् । उनी ‘पशुपति प्रसाद’ को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन् । पछिल्लो दशकमा दर्शकमाझ सर्वाधिक प्रभाव छोड्न सफल चरित्र हो ‘भष्मे डन’ । अहिले पनि सामाजिक सञ्जालमा ‘भष्मे डन’ का संवाद र दृश्य लोकप्रिय छन् ।

‘भष्मे डन’ मा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ । निर्माण पक्षले यो सिक्वेल तर्कसंगत र अर्थपूर्ण बनाउन निकै मिहिनेत गर्ने बताएको छ ।

आगामी फागुन मध्यदेखि छायांकनमा जाने सिनेमा २०८० सालको दसैं अवसर पारेर फूलपातीमा रिलिज हुनेछ । कृष्ण भारद्वाज र सुवास भुसालको संगीत रहने सिनेमामा नीरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दीर्घ खड्काको सम्पादन रहनेछ । निर्माण कम्पनी टुकी आर्ट्स प्रालिले ‘पशुपति प्रसाद’ सहित ‘धनपति’ र ‘पानीफोटो’ जस्ता मौलिक सिनेमा निर्माण गरिसकेको छ ।

प्रकाशित : 30 January, 2023

प्रतिक्रिया दिनुहोस्