काठमाडौं उपत्यकाका ३ वटा कुखुरा फर्ममा बर्डफ्लू पुष्टि

काठमाडौं । माघ २४, काठमाडौं उपत्यकाका ३ वटा कुखुरा फर्ममा बर्डफ्लू पुष्टि भएकाे छ ।
बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अण्डा नष्ट गरिएको हाे । कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट, तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभाग ललितपुरले जनाएकाे छ । ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो ।
अहिले ३ वटै फार्मका कुखुरा, अण्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनिकरण गरिएको छ । जसका कारण ललितपुरको खुमलटारमा २ हजार ५ सय ३० वटा अण्डा, २ सय १७ वटा कुखुरा र दाना २ सय ५० केजी नष्ट गरिएको छ । रामकोट फार्ममा ४ हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अण्डा नष्ट गरिएको विभागले जनाएकाे छ । साथै तार्केश्वर फार्ममा ९ सय ४० वटा कुखुरा, दाना १ सय केजी र १ हजार वटा क्रेट नष्ट गरिएको छ ।