वैशाख १० गते चितवन-२ मा उपनिर्वाचन

काठमाडौं । माघ २९, निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
उपनिर्वाचन सम्बन्धी व्यवस्था प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६८ मा छ । यसअघि गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए ।
तर, नेपाली नागरिकता त्यागेर अमेरिकन नागयिरकता लिएको र अमेरिकन नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको पद गएको थियो ।