बैठकमा छलफल नै नगरी अध्यादेश पास गर्ने सरकारको तयारी

काठमाडौ । फाल्गुन ४, बागमती प्रदेशसभाको बैठक गत माघ २६ गतेयता बस्न सकेको छैन । संसदीय समिति गठनमा विवाद भएपछि २६ गतेयता बैठक अनिश्चित रहेको छ ।
प्रदेश प्रमुखको सम्बोधनका लागि माघ २६ गते प्रदेशसभा बैठक सञ्चालन भए पनि २३ गतेदेखि नै संसद् बैठक बस्न नसकेको हो । यता, सरकारले न सांसदलाई बिजनेस दिन सकेको छ न नै प्रदेशसभा बैठकको गतिविधिलाई तीव्रता दिएको छ ।
प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार संसद्को बैठक आह्वानबारे खासै छलफल हुन सकेको छैन ।
उनका अनुसार संसदीय समितिको टुङ्गो नलागेसम्म अन्य कुनै पनि गतिविधिका लागि संसद् आह्वान गर्ने योजना छैन । उनले संसद्को बैठक छिट्टो भन्दा छिट्टो आह्वान गरिने र त्यसका लागि सचिवालयले तयारी गरिरहेको बताए ।
उनका अनुसार आगामी फागुन १० गतेसम्ममा संसद् बैठक आह्वान गरिने र उक्त बैठकले संसदीय समितिको पूर्णता गर्ने बताए । संसदीय समितिले पूर्णता नभएसम्म अन्य बिजनेस संसदमा दर्ता नरहेको र सरकारले जारी गरेको अध्यादेश पनि अघि बढाउन समस्या हुने उनले बताए ।