काठमाडौं उपत्यकामा हिउँद लागेयता वर्षकै पहिलो वर्षा

सहयात्रा टिभी

काठमाडौं । फागुन १४, काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा छिटफुट वर्षा भएको छ । हिउँद याम लागेयता यो वर्षकै पहिलो वर्षा हो ।

हिउँद लागेसँगै लामो समयदेखि पानी नपर्दा खडेरीको अवस्था भइरहेका बेला भएको वर्षाले केही राहत दिलाएको छ । विगत वर्षाको तुलनामा यस पटकको हिउँदमा हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत वर्षा र हिमपात कम भएको छ ।

पश्चिमी वायु सक्रिय नहुँदा समयमै पानी पर्न नसकेको मौसमविदको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने जनाएको छ।

आइतबार अपराह्नदेखि वाग्मती प्रदेशमा मौसम बदली भइ मेघगर्जनसहित हल्का वर्षा भएको हो ।

लामो समय पानी नपर्दा सुख्खा भइरहेको अवस्थामा छिटफुट रुपमा भएको वर्षाले पनि काठमाडौं उपत्यकाबासीलाई राहत दिएको छ । गत असोज २८ गते वर्षा भएको थियो । त्यसयता वर्षा भएको थिएन ।

सामान्यतः हिउँदमा वर्षा हुँदा अत्यधिक चिसो हुने गरेकोमा यसपटक उपत्यकाबासीले त्यति चिसो महसुस गरेनन् । फागुन महिन लागेसँगै काठमाडौंमा गर्मी बढ्दै गएको छ ।

गर्मी बढ्दै गएको अवस्थामा भएको वर्षाले फेरि काठमाडौंमा चिसो बढेको छ ।

प्रकाशित : 26 February, 2023

प्रतिक्रिया दिनुहोस्