सत्ता गठबन्धनको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारमा जुटेन सहमति

काठमाडौं । चैत १, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक बिना निश्कर्ष टुंगिएको छ । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवारबारे निर्णय लिन बसेको बैठकमा सहमति जुट्न सकेन ।
सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलको बैठक बोलाएका थिए ।
बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘सकारात्मक छलफल भएको छ । भोलि बसेर एउटा धारणा बनाउने कुरा भएको छ ।’
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी थिए ।