केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री माथि विश्वास नभएको कारण विश्वासको मत नदिने : एमाले

सहयात्रा टिभी

काठमाडौँ । चैत ६, नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए ।माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उनले आरोप लगाए ।

हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको उनको आरोप छ ।

यो पटक पनि आफूहरुको प्रयासमा वामपन्थी सहितको सरकार बनाएको भन्दै ओलीले भने, ‘उहाँलाई सैह्य भएन । प्रधानमन्त्री हुनुभयो, भएको भोलिपल्टबाट इमान छोड्नुभयो, बेइमानी सुरु गर्नुभयो ।’

सम्माननीय प्रधानमन्त्रीको सन्दर्भमा यसो भन्नु ठीक नहुने भन्दै उनी आफैंले भने, ‘इमानमा रहन सक्नु भएन । दक्षिणपन्थी सरकार बनाउनुभयो । राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो ।’

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसक्ने र विकास निर्माणले गति नलिने उनको दाबी छ । अहिले पनि कसैको बढुवा गर्नुपर्यो भने आफ्नो (केपी ओली) नजिक हुनुहुँदोरहेछ भनेर नातावाद, कृपावादको मानसिकता देखाउने गरेको उनको आरोप छ ।

प्रचण्डले राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कमजोर पार्ने, अर्थतन्त्रलाई ध्वस्त बनाउने, जनतामा अनेकता ल्याउने काम गर्ने र वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाउने काम गरिरहेको ओलीको आरोप छ ।

उनले अघि भने, ‘प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने गठबन्धनका स्वार्थीहरुले भोट देलान् । हामीलाई स्वार्थ पनि छैन, झुक्नु पनि छैन । हामीलाई उहाँप्रति विश्वास छैन ।’

हार जित जे भए पनि एमालेले विश्वासको मत दिन नसक्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘हालसालका उहाँका अविश्वसनीय कदम, षडयन्त्र र चालबाली हेरेर पनि विश्वास छैन । त्यसकारण विश्वासको मत दिन सक्दैनौं ।’

 

प्रकाशित : 20 March, 2023

प्रतिक्रिया दिनुहोस्