मधेश भवनको गोदाममा ५ हजार साइकल खिया पार्न थाले

काठमाडौँ । चैत १३, ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ अन्तर्गत मधेश सरकारले प्रदेशभरका छात्रालाई बाँड्न खरिद गरेको करिब पाँच हजार थान साइकल खिया पार्न थालेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा किनेको १० हजार थानमध्ये करिब आधा साइकल वितरण हुन नसकेर गोदाममै खिया पार्न थालेको हो ।
तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले तेस्रो चरणमा ८ करोड ४४ लाखमा १० हजार रुपैयाँमा १० हजार साइकल किनेको थियो ।
काठमाडौंको पुतलीसडकस्थित स्यान्यो इन्टरनेशनल प्रा.लि.मार्फत किनिएकामध्ये आधा साइकल करिब दुई वर्षदेखि जनकपुरको मधेश भवनको गोदाममा रहेको जनाएको छ ।
आव ०७६/७७ मा मधेश सरकारले १७ हजार साइकल खरिद गर्दा ११ करोड रुपैयाँ अनियमितताको ठहर गर्दैअख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ साउन २०७८ मा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार आरोपितमा मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख भगवान झा, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र आपूर्ति कम्पनी ओम सत्य साई प्रा.लिका प्रबन्ध निर्देशक रेनु अग्रवाल थिए।
त्यो प्रकरणमा अख्तियारले बोलपत्र मूल्यांकन समितिमा रहेका मन्त्रिपरिषद् कार्यालयका तत्कालिन उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल र इन्जिनियर भगवान झाविरुद्ध पनि मुद्दा दायर गरेको थियो। मुद्दा परेपछि करिब पाँच हजार साइकल वितरण अन्यौलमा पर्नुका साथै भुक्तानी प्रकृया पनि रोकियो ।
मधेश सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट कक्षा ८ का छात्राहरुलाई साइकल वितरण सुरु गरेको थियो ।
सुरुमा निकै लोकप्रिय बनेको यो कार्यक्रम भ्रष्टाचारको कारण पछि ठूलो बदनामीको योजना बन्न पुग्यो। अहिले त त्यससम्बन्धी कागजपत्र फाइल कर्मचारीले छुनै मान्दैनन् ।