अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठ बीच भेटवार्ता

काठमाडौँ । चैत २२,आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बीच शिष्टाचार भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा शान्ति प्रक्रिया र नेपालको राजनीतिक स्थीरताबारे राजदूत थम्पसनले चासो राखेका जनाएको छ ।
भेटमा राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिन तयार रहेको बताएका थिए ।
राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा पनि राजदूत थम्पसनले चासो लिएका थिए । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताएका थिए ।