अलपत्र मेलम्ची खानेपानीको मुहानमा निर्माणको बाटो खुल्यो

काठमाडाै । चैत २३, चालु आर्थिक वर्षमा अलपत्र बनेको मेलम्ची खानेपानी आयोजना निर्माणको बाटो खुलेको छ । चालु आर्थिक वर्षको बजेटले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गरेसँगै यस अन्तर्गतको मेलम्ची खानेपानी पनि ९ महिनादेखि अलपत्र थियो ।
बजेटले आयोजनालाई खानेपानी विभाग मातहत ल्याएर कार्यान्वयन गर्ने भनेको थियो । तर, आयोजना विभाग मातहत आएन । सरकारले करिब ९ महिनापछि पुरानै विकास समितिलाई ब्युँताउने काम गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिलाई ब्युँताउने निर्णय गरेको हो ।
विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले सोमबारको मन्त्रिपरिषद् बैठकले समितिलाई ब्युँताएको जानकारी दिए । उनले यो निर्णयसँगै नयाँ संरचना निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी गरेको कारोबारलाई बताए । उनका अनुसार निर्माणका लागि पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग छलफल अगाडि बढाइएको छ ।
चिनियाँ कम्पनीले समय कम भएको भनिरहेको छ । “नयाँ ठेक्का सम्झौता गर्न समय नभएकाले पुरानै ठेकेदार कम्पनीसँग सम्झौता हुन सके पानी नपर्दासम्म केही गर्न सकिन्छ कि भनेर लागेका छौं,” श्रेष्ठले भने, “नयाँ संरचना बनाउन कम्तिमा पनि ३ महिना लाग्छ । यो बर्खामा पनि मेलम्चीको पानी बन्द गर्नुपर्ने सम्भावना धेरै छ । फुकुवाको निर्णय आउन नै ढिलाइ भयो ।” उनका अनुसार नयाँ संरचना बनाउन १० करोड हाराहारीमा बजेट लागे पनि कुनै समस्या छैन । वार्षिक बजेटबाट यसका लागि प्रयोग गर्न सकिन्छ ।
मेलम्ची आयोजना संघीय राजधानी उपत्यकाको पानी आपूर्तिको सबैभन्दा ठूलो र भरपर्दो स्रोत हो । दुई वर्षअघि आएको बाढी र पहिरोले यो आयोजनालाई अस्थायी बनाएको छ । आयोजनाबाट हिउँदमा पानी आपूर्ति हुने र वर्षायाममा बन्द हुने गरेको छ । तर यस्तो हुँदा पनि सरकारले यो आयोजनालाई गम्भिर रुपमा लिएको देखिँदैन । उपत्यकाका वासिन्दा खानेपानी अभावमा छटपटाइ रहेका बेला यो आयोजनालाई बाह्रै महिना सञ्चालनमा ल्याउने गरी अहिलेसम्म काम भइसक्नु पर्ने थियो । तर आयोजनाको काम ९ महिनासम्म अलपत्र बनाइयो ।
श्रेष्ठले समिति निष्क्रिय रहेकाले मेलम्ची खानेपानीको नयाँ संरचना निर्माणमा ढिलाइ भएको बताए । यसअघि समितिले मेलम्ची आयोजनालाई मनसुन अवधिमा पनि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने तयारी गरेको थियो । दुई वर्षअघिको बाढी पहिरोले मुहानमा समस्या ल्याएपछि अहिले ६ महिना पानी वितरण बन्द गर्नुपर्ने अवस्था छ । हिउँदका ६ महिनामात्रै आयोजनाको पानी उपभोक्ताले उपभोग गर्न पाएका छन् ।
हाल काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण हुँदै आइरहेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र दैनिक ४५ करोड लिटर पानी आवश्यक छ । मेलम्ची आयोजना सञ्चालन नहुँदा १३ करोड लिटरमात्र आपूर्ति भइरहेको थियो ।
मेलम्चीको पहिलो चरणको आयोजनाबाट १७ करोड लिटर पानी थप भएको छ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुनः थप ३४ करोड लिटर पानी वितरण गर्ने सरकारको योजना छ । मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंवासीले दैनिक ५१ करोड लिटर पानी पाउने छन् । अहिलेसम्मको प्रगति हेर्दा यो मृगतृष्णा जस्तै देखिएको छ ।