कांग्रेस र गोविन्दराज जोशी बिच वार्ता निष्कर्षविहीन

काठमाडौँ । चैत २९, नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता निष्कर्षविहीन भई आजदेखि समाप्त भएको घोषणा गरेका छन् ।
कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।
वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो ।
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वणिर्म वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् ।
जोशीले वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवार नभएको भन्दै २१ औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनोट गरी मतदान गर्न आग्रहसमेत गरेका छन् ।