नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरको बयान

काठमाडौं । बैशाख २, माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको, गल्तीले गोली चलेको प्रहरी हवल्दार प्रकाश पुन मगरको बयानले जनाएको छ ।
शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यसक्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको स्रोतले जनाएको छ ।
पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।
‘लोडेड पेस्तोल त्यसरी बोकेर पारिवारिक जमघटमा जानुमा गम्भीर लापरबाही देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले गोली चलाउनु पछाडिको अरु कारण देखाएको छैन ।’
हवल्दार प्रकाशले नेता पुनको आमालाई हजुरआमा भन्दै सम्बोधन गर्थे । पुनका भाइका साथीसमेत हुन्, उनी । रोल्पामा उनी छिमेकी समेत भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसैले उनको नेता पुनकी आमा बसेको घरमा आउजाउ भइराख्थ्यो ।