चितवन क्षेत्र नम्बर २ का दुई वटा केन्द्रमा मतदान स्थगित

काठमाडौं । १० वैशाख , चितवन क्षेत्र नम्बर २ को उपचुनावका क्रममा दुई वटा केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि र कृष्णपुर मावि केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भयो ।
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान साढे ११ बजेदेखि मतदान स्थगित भएको हो ।
यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो ।
नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच आज भइरहेको उपचुनावका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताउनुभयो । आज बिहान ७ बजेदेखि मतदान चलिरहेको छ ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।
यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् ।