केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यूएईमा नेपाली युवकले जिते १० लाख दिरामको चिठ्ठा

सहयात्रा टिभी

यूएई । जेठ ९, यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।

अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जितेका हुन् ।

उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेशनल न्युज डटकमले जनाएको छ । लक्की ड्र विजेता भनेर सूर्यको फोटोसहित समाचार प्रकाशित गरेको अनलाइनमा उनको पूरा नाम र नेपालको ठेगाना भने उल्लेख छैन ।

अविश्वसनीय रुपमा भाग्यशाली चिठ्ठा जितेपछि उनले भविष्यको योजना बनाइरहेको समाचारमा उल्लेख छ । उक्त अनलाइनसँगको कुराकानीमा सूर्यले चिठ्ठा रकम परिवारको जीवन सुधार्न खर्च गर्ने बताएका छन् ।

‘म सधैं मेरो परिवारको भविष्यप्रति चिन्तित हुन्छु,’ उनले भनेका छन्, ‘मेरो जीवन नै परिवर्तन गराइदिने यो जितप्रति महजुजप्रति आभारी छु ।’ नेपालमा रहेकी आफ्नी आमाको लागि घर किन्ने र छोराको शिक्षामा खर्च गर्ने उनको योजना छ ।

शनिबारको लक्की ड्र घोषणा हुने बेला उनी आफ्नो नियमित काममा थिए । आफू विजेता बनेको जानकारी उनले सोमबारमात्र पाएका थिए ।

महजुजको लक्की ड्र हरेक शनिबार हुन्छ । सहभागीहरुले महजुजको ३५ दिराम पर्ने पानीको बोतल किनेर चिठ्ठामा सहभागी हुन पाउँछन् । यसबाट हरेक हप्ता १० लाख -१ मिलियन) दिराम बराबरको चिठ्ठा घोषणा हुन्छ । यो चिठ्ठाको उच्चतम राशी भने २० लाख दिरामको छ ।

महजुजले आफ्नो वेबसाइट र फेसबुक पेजमा १० लाख दिरामको विजेता भनेर सूर्यको फोटो पोष्ट गरेको छ । तर, उनको बारेमा विष्तृत विवरण भने उल्लेख छैन ।

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्