Author: Kamal Rana

  • गंगालालमा रोकियो मुटुको शल्यक्रिया

    गंगालालमा रोकियो मुटुको शल्यक्रिया

    काठमाडौँ । साउन ४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ ।

    शल्यक्रिया गर्ने बेलामा शरीरमा अक्सिजन आपुर्ति गर्ने उपकरण (अक्सिजेनेटर)को अभाव भएकाले सेवा रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।

    रुस युक्रेन युद्धका कारण अक्सिजेनेरेटरको आपुर्ति हुन नसकेकाले सेवा रोकिएको पनि अस्पतालले जनाएको छ ।

    अक्सिजेनेरेटर नहुँदा मंगलबार शल्यक्रिया गर्नुपर्ने १८ जना बिरामीलाई घर पठाइएको छ ।

    अक्सिजेनेटरको आपुर्ति कहिले सहज हुन्छ भन्नेबारे अहिल्यै भन्न नसकिने र अक्सिजेनेरेटर नआएसम्म शल्यक्रिया हुन नसक्ने अस्पतालले जनाएको छ ।

    बालबालिकाका लागि भने अक्सिजेनेरेटरको अभाव नभएको अस्पतालले जनाएको छ ।

  • सत्ता गठबन्धनले देशलाई नै झगडिया बनायो : ओली

    सत्ता गठबन्धनले देशलाई नै झगडिया बनायो : ओली

    काठमाडौँ । साउन ४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबधनले देशलाई नै झगडिया बनाएको आरोप लगाएका छन् ।

    काठमाडौँमा आज आयोजित एमालेको बागमतीस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनले राज्यका अंगहरुलाई जथाभावी दबाब दिने र दुरुपयोग गरिरहेको बताएका हुन् ।

    ‘देशलाई नै गठबन्धनले झगडिया बनाएको छ । यो देशमा अरु विषयको त पढाइ बन्द गरे हुने भयो कानुनबाहेक ।’ उनले भने ।

    महाअभियोग जस्ता कुराहरु लगाउने, मुद्दा हाल्ने र झगडिया खडा गर्ने काम गठबन्धनले गरेको ओलीको भनाइ छ ।

    अब यी सबै विकृतिको समाधान भनेको निर्धारित समयमा निर्वाचन भएको उनले बताए । उनले भने, ‘यी सबै कुराको समाधान समयमा निर्वाचन गराउनु हो ।’

  • खाना पकाउनै नजान्नेका लागि विशेष टिप्स

    खाना पकाउनै नजान्नेका लागि विशेष टिप्स

    काठमाडौँ । साउन ३, विभिन्न परीकारका पारखीहरु आफैले भने ति परिकार खाना बनाउन जान्दैनन् । खाना बनाउन मेहनतले मात्र पुग्दैन । यसकालागि विशेष कला र त्यसबारे ज्ञान आवश्यक हुन्छ । यस्तोमा भान्साको साधारण ज्ञान समेत छैन भने केही यस्ता टिप्सहरु छन् जसले भान्सामा खाना पकाउन सहज बनाउन सक्छ ।

    – प्रेसर कुकरको प्रयोग गर्दा त्यसको बिर्कोलाई राम्ररी लगाएर मात्र क्लिप लगाउनु पर्दछ । अन्यथा बिर्कोको चेपबाट बाफ आउन, रबर निस्कने वा बिर्को नै उछिट्टीने हुन सक्छ ।

    – खाना पकाउदा आगो सधै मध्यममा राख्नु पर्दछ । यसले खानालाई राम्ररी पाक्न मद्दत गर्छ । साथै खाना सबैतिर मज्जाले पाक्छ ।

    – यदि कुनै तरकारीको झोल खाने हो भने पहिला त्यसलाई भुट्नु पर्दछ । अनि उमालेको पानी हालेर पकाउँदा झोल तरकारी मीठो बन्छ ।

    – प्याज भुट्दा थोरै अलिकति नून हाल्नु पर्दछ त्यसो गर्दा प्याज लपक्क भएर चँडै पाक्छ ।

    – काक्रालाई काट्नु अघि बिचबाट पिटक्क भाचेर केहिबेर राख्ने अनि मात्र काट्दा काक्राको तितोपना घटेर जान्छ ।

    – फलामको कराईमा खाना पकाउदा शरीरमा अभाव हुने आइरनको मात्रा पुरा हुनसक्छ ।

    – पुरीलाई पसलमा झै स्वादिलो बनाउन चाहानुहुन्छ भने पिठोलाई दूधले मुस्नु पर्दछ । साथै पिठोसंगै थोरै चिनि र नुन राखेर मुस्दा पुरी स्वादिलो हुन्छ ।

    – यदि पकौडा बनाउने मुडमा हुनुहुन्छ भने बेसनमा केहि कागतीको रस हाल्नु पर्दछ । यसो गर्दा पकौडाले धेर तेल सोस्दैन र कुरुमकुरुम समेत बन्छ ।

    – झोल तरकारीमा नुन ज्यादा भयो भने पिठो मुसेर डल्ला पारेर ६/७ डल्ला राख्दा नुनको मात्रा कम भएर जान्छ ।

    – भात पकाउँदा कुकुरमा जति गिलास चामल हाल्नु भएको छ त्यति नै मात्रामा पानि राख्नु पर्दछ ।

  • प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह : करारका कर्मचारीलाई नहटाउनू

    प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह : करारका कर्मचारीलाई नहटाउनू

    काठमाडौँ । साउन ३, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यालयले स्थानीय तहहरुलाई करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ ।

    मन्त्रालयले स्थानीय तहमा नियुक्त भएका करारको रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई कानूनी प्रक्रिया अनुसार बाहेक सेवाबाट नहटाउन आग्रह गरेको हो ।

    सोमबार एक सूचनामा भनिएको छ, ‘कार्यक्रमको शुरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी संघीय सरकारले लगानी गरी मानव पूँजी निर्माण गरेको र यो कार्यक्रम केन्द्रिय सशर्त अनुदान अन्तर्गत संचालित कार्यक्रम रहेकाले एकमुष्ठ रुपमा कर्मचारीलाई सेवाबाट हटाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवारुप कार्यक्रमको सोच, लक्ष्य र उद्देश्यमा दख्खल पर्न गएकोले कानुनी प्रक्रिया अनुसारबाहेक सेवाबाट नहटाउन पुन: अनुरोध गरिन्छ । ‘

    नयाँ जनप्रतिनिधि आएपछि यसअघि जनप्रतिनिधिले राखेका करारका कर्मचारीको म्याद साउन १ गतेदेखि स्थानीय सरकारहरूले थप गरेका थिएनन्।

    केही स्थानीय तहबाट रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६’र ‘स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ मा व्यवस्था भए बमोजिम कार्य सम्पादन मूल्याङ्कनका आधारमा करार नवीकरण गर्नु पर्नेमा केही स्थानीय तहले कार्यपालिकाको निर्णयका आधारमा करार भङ्ग गरेको जानकारी प्राप्त हुन आएकोले यस कार्यक्रमको पुनगम्भिर ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरिएको छ ।

  • दैनिक छ सय जनाले मतदाता नाम दर्ता गर्न पाउने

    दैनिक छ सय जनाले मतदाता नाम दर्ता गर्न पाउने

    काठमाडौँ । साउन ३, अनलाइनबाट गरिने मतदाता नामावली दर्तामा चाप बढे पछि निर्वाचन आयोगले उपत्यकाका तीनवटै जिल्लामा दैनिक दर्ता गराउनेको सङ्ख्या सीमा बढाएको छ। आयोगले प्रत्येक जिल्लामा दैनिक छ सय जनाले ‘प्री रजिस्ट्रेसन’ गरेर बायोमेट्रिकका लागि समय पाउने व्यवस्था गरेको हो।

    निर्वाचन आयोगले असार २९ गते देखि मतदाता नामावली अनलाइन दर्ता गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लामा ‘पाइलट अपरेसन’ सुरु गरेको थियो।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई सय जनाको सङ्ख्या सीमा राखेर अनलाइन दर्ता सुरु गरिएकोमा दैनिक अब छ सय जनाले नाम दर्ता गरेर बायोमेट्रिकका लागि समय लिन पाउने व्यवस्था गरि एको जानकारी दिए ।

    अनलाइनमार्फत ‘प्री रजिस्ट्रेसन’ मा काठमाडौँ जिल्लामा हालसम्म करिब ५५० जनाले नामावली दर्ता प्रक्रिया टुङ्ग्याएका छन् । तर, हाल साउन ४ गतेसम्मका लागि मात्रै समय उपलब्ध गराइएको छ। चुनावको मिति साउन पहिलो साता नै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    प्रवक्ता पौडेलले भने, “मङ्गलबारबाट लागू हुने गरी ७ गते सम्मका लागि दर्ता खुला गरिएको छ, चुनावको मिति घोषणा भएको दिनसम्म अनलाइन दर्ता गराएकाको बायोमेट्रिक लिएर नामावली दर्ता हुन्छ ।”

    तर, अनलाइन दर्ता गराएका व्यक्तिले आफूले पाएको समयमा निर्वाचन कार्यालयमा बायोमेट्रिकका लागि नपुग्दा आयोगको चिन्ता बढेको छ।

    निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईले भने, “यसो हुँदा दर्ता गर्न नपाएर पर्खेका व्यक्ति वञ्चित भएका छन् भने स्रोत साधनको समुचित उपयोग हुन सकेको छैन ।”

    समय लिएकामध्ये १४५ जना व्यक्ति मात्रै बायोमेट्रिकका लागि सोमबार जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ पुगेका छन् । सफ्टवेयर प्रणालीले भने दुई सय जनालाई समय उपलब्ध गराएको थियो ।

    प्रवक्ता पौडेलले भने, “उपत्यकाको जुनसुकै जिल्लाबाट अनलाइन दर्ताका लागि समय लिन पाउने व्यवस्था गरिएको छ।”

    आयोगको उक्त व्यवस्थाले काठमाडौँ जिल्लाको सङ्ख्या सीमा पुगेपछि काठमाडौँकै व्यक्तिले ललितपुर वा भक्तपुर जिल्लाबाट काठमाडौँमा नामावली दर्ताका लागि समय लिन पाउने छन् । यो समाचार आजको गोरखापत्रमा छ ।

  • भारतको मध्य प्रदेशमा बस नदीमा खस्दा १३ जनाको मृत्यु

    भारतको मध्य प्रदेशमा बस नदीमा खस्दा १३ जनाको मृत्यु

    काठमाडौँ । २ साउन, भारतको मध्य प्रदेशस्थित धार जिल्लामा यात्रुबहाक बस नर्मदा नदीमा खस्दा १३ जनाको मृत्यु भएको छ ।

    सोमबार बिहान सवा १० बजे भएको उक्त दुर्घटनामा अन्य १५ जनाको उद्धार गरिएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धार गरिएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा ५५ यात्रु सवार रहेका जानकारी दिइएको छ ।

    इन्दौरबाट पुणेतर्फ गइरहेको बस दुर्घटनामा परेको जनाइएको छ । खलघाट संजय सेतु पुलमा पुगेको बसले नियन्त्रण गुमाउँदा नदीमा खसेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाप्रति दुःख व्यक्त गरेको छन् ।