Author: Kamal Rana

  • साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

    साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

    काठमाडौँ– भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।

    मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार साफ यू-२० का लागि २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

    बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका हुन् ।

    साउन ९ गतेदेखि २० गते (जुलाई २५ देखि अगष्ट ५ सम्म) भारतको भुवनेश्वरमा हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहने छ ।

    च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

    नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।

    त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।

    शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

    नेपाली टोली :

    गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

    डिफेन्डरःअमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
    मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
    फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

  • पुनःस्थापनाका २२ वर्षमा पनि मुक्त कमैयाका दुःख उस्तै

    पुनःस्थापनाका २२ वर्षमा पनि मुक्त कमैयाका दुःख उस्तै

    महेन्द्रनगर । २ साउन, कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर मुक्तकमैयाका शिविरका ३२ वर्षीय लालबहादुर डगौराले महेन्द्रनगरमा मिस्त्री काम नगरेको दिन घरमा चुल्हो बाल्न मुश्किल हुन्छ ।

    विसं २०५७ मा कमैया मुक्त हुनुअघि महेन्द्रनगर बजारस्थित वन कार्यालय छेउको खाली जमिनमा बसेर बजारमा मजदुरी गरेर जिविका चलाएका उनी परिवार मुक्तपछि झण्डै आठ किलोमिटर दूरीमा रहेको धरमपुर शिविरमा बसाइँ सरे । पाँच कट्ठा दिएर सरकारले पुनःस्थापना गरेको २२ वर्ष बितिसक्दा पनि लालबहादुरको सिङ्गो परिवार नै अहिले ज्याला मजदुरी नगरे खान नपाउने अवस्थामा छ ।

    “महेन्द्रनगरमा नौ वर्षदेखि घर बनाउने मिस्त्री काममा मजदुरी गरिरहेको छु”, उनले भने, “धेरैका बङ्गला बनायौँ तर हाम्रो उही झुपडी थोत्रो साइकलको यात्रा छ ।” दैनिक काम गरेरबापत रु ९०० कमाउने उहाँ धरमपुरका अधिकांश युवायुवती ज्याला मजदुरी गर्न महेन्द्रनगर बजार क्षेत्रमा आउने गरेको बताउनुभयो ।

    “ठेकेदार मिस्त्रीलाई रु ९०० र लेवरलाई बढीमा रु ६०० सम्म दिन्छन्”, उनले भने, “त्यही पैसामा घामपानी नभनी श्रम बेचेर घरको खर्च चलाउँदै आएका छौँ ।” लालबहादुर एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ, उहाँजस्तै मुक्तकमैयाका सयौँ युवा अहिले जीविका चलाउन कडा श्रम गरिरहेका छन् ।

    “मुक्तकमैयालाई रोजगारीका साथै शैक्षिक अवस्था सुधार गर्नसके मात्रै अवस्थामा सुधार आउन सक्छ”, उनले भने, “पढ्ने बेला घरको अवस्थाले मजदुरी गर्न आउनुपर्ने भएकाले जीवन ज्याला मजदुरीमै गुजार्नुको विकल्प हुन्न ।”

    बेदकोटको धरमपुर मुक्त कमैया शिविरमा सयौँ परिवार आश्रित रहे पनि त्यहाँ अझै खानेपानीको असुविधा छ । “गर्मीयाममा तीन महिना त गाउँमा नल्का नै सुक्छन्”, उनले भने, “चुनावका बेला नेता आश्वासन दिन्छन् पछि केही गर्दैनन् ।”

    विसं २०५७ साउन २ गते पश्चिमका पाँच जिल्लामा रहेको कमैया प्रथाको अन्त्य गरेको थियो । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा कमैया मुक्त गरे पनि यहाँ अझै गरिबीका कारण उनको अवस्था उही पुनःस्थापनाअघिको जस्तै छ ।

    मुक्तकमैया समाजका जिल्ला अध्यक्ष घासीराम रानाले पुनःस्थापनापछि पनि मुक्त कमैयाका समस्या उस्तै रहेको बताए । उनले अझै २५ हजारभन्दा बढी कमैया परिवार मुक्त हुन बाँकी रहेको दाबी गरे । “मुक्त कमैयाले ज्यालादारी गरेर बाँच्नु परेका अवस्थामा कसरी अवस्था सुधार हुन्छ”, उनले भने, “शिक्षा सुधारको विषय पनि सहर वरिपरि रह्यो ।”

    सरकारले मुक्तकमैयालाई दिएको जग्गा बैंकमा धितो राखेर आफ्नै काम गर्ने अवस्था पनि नरहेको उनको दुखेसो छ । बसोबासका लागि जग्गा र घर बनाउन आवश्यक काठ उपलब्ध गराउने निर्णय गरेको थियो तर त्यो पनि सबैले पाउन सकेनन् ।

    विसं २०७५ असारमा जग्गा खरिद तथा काठबापतको रकम र घर निर्माण अनुदान वितरण गर्न स्थानीय सरकारलाई जिम्मेवारी दिएको भए पनि त्यो अहिलेसम्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सरकारले मुक्त कमैयालाई पहिचान गरी ३२ हजार ५०९ परिवार परिचयपत्र दिएको छ । कञ्चनपुरका धरमपुर, झलारी, बाणीलगायतका क्षेत्रमा मुक्तकमैया बस्ती बसालिएको छ । धेरैजसो ठाउँमा नदी किनारमा बस्ती राख्दा मुक्तकमैयाले उब्जनी नहुने दुखेसो पोख्दै आएका छन् ।– रासस

  • बागमती प्रदेशसभा बैठक साउन ५ गते

    बागमती प्रदेशसभा बैठक साउन ५ गते

    काठमाडौँ । २ साउन, बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

    प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

  • तोलामा चार सयले बढ्यो सुनको मूल्य

    तोलामा चार सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । २ साउन, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा चार सयले वृद्धि भएको छ ।

    आइतबार बजारमा प्रतितोला ९३ हजार ६ सयमा रुपैयाँमा कारोबार भएको छापावला सुन आज तोलाको ९४ हजारमा कारोबार भइरहेको छ ।

    त्यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँ रहेको थियो ।

  • आजको मौसम आंशिकदेखि सामान्य बदली, मंगलबारदेखि भारी वर्षा

    आजको मौसम आंशिकदेखि सामान्य बदली, मंगलबारदेखि भारी वर्षा

    काठमाडौँ । १ साउन, जल तथा पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

    आज दिउँसो पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बिहान प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

    आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ। जसले गर्दा मनसुनमा जुन रुपमा वर्षा हुनु पर्ने केही दिन यतादेखि हुन सकेको छैन । मनसुनको समयमा वर्षा नहुँदा तराईका साथै पहाडी क्षेत्रमा पनि ह्वात्तै गर्मी बढेर गएको छ ।

    महाशाखाले साउन ३ गते (मंगलबार) दिउँसोदेखि भने मनसुन फेरि सक्रिय भइ केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । मंगलबार राति गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थान र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • प्रचण्डले आज भारतीय प्रधानमन्त्री र भाजपा अध्यक्षलाई भेट्ने

    प्रचण्डले आज भारतीय प्रधानमन्त्री र भाजपा अध्यक्षलाई भेट्ने

    काठमाडौँ । १ साउन, भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

    शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रचण्ड उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

    प्रचण्डले आज मोदीसँग भेटवार्ता गर्ने र भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुग्ने कार्यक्रम उनी निकट स्रोतले जनाएको छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) कै अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।

    यसअघि शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।

    त्यसअघि शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । भारत भ्रमण सकेर प्रचण्ड आजै स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।