Author: Kamal Rana

  • कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    काठमाडौँ । असार २७, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

    पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र बिहान आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा भएको छ ।

    आज राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    महाशाखाले भोलि र पर्सी बुधबारसम्मै देशभर सामान्य बदली रही वर्षा हुने जानकारी दिएको छ ।

  • चिनियाँ नेता लिउले आज प्रचण्डलाई भेट्दै

    चिनियाँ नेता लिउले आज प्रचण्डलाई भेट्दै

    काठमाडौँ । असार २७, नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।

    अपराह्न ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लिउको टोलीले भेटवार्ता गर्नेछ। यस्तै सोल्टी होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ।

    त्यसअघि चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकनमा जाने कार्यक्रम छ । त्यहाँबाट फर्केपछि उक्त टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।

    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् ।

    जियान्चाओले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका थिए।

    लिउ चार दिने भ्रमणका क्रममा आइतबार नेपाल आएका हुन् ।

  • लिग टु क्रिकेट : नेपालले आज नामिबियाको सामना गर्दै

    लिग टु क्रिकेट : नेपालले आज नामिबियाको सामना गर्दै

    काठमाडौँ । असार २७, आईसीसी विश्वकप लिग टु क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ । त्रिकोणात्मक शृंखलाका लागि स्कटल्याण्डमा रहेको नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्दैछ ।

    फाइल तस्वीर

    नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।

    आइतबारदेखि स्कटल्याण्डमा सुरु नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्न लागेको हो ।

    नेपाल आज नामिबियालाई हराउँदै शृंखलामा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । लिग टु मा नामिबियासँग नेपालले पहिलो पटक खेल्न लागेको हो ।

    शृंखलाको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।

    लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    शृंखला अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध २९ असारमा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध ३२ असारमा र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध १ साउनमा खेल्ने तालिका रहेको छ ।

  • सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौँ । असार १७, ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरिएको छ।

    सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो।

    असार १६ गतेको निर्णयाअनुसार रामेश्वर श्रेष्ठ, छविलाल रावत, राजन विक्रम कार्कीलगायत ५६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।

    बढुवा सिफारिस सम्बन्धमा चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सूचनामा भनिएको छ ।

  • नेपाल वायुसेवा निगम ६५ वर्षमा प्रवेश

    नेपाल वायुसेवा निगम ६५ वर्षमा प्रवेश

    काठमाडौँ । असार १७, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ ।

    सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

    निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा यस पटक सामान्य कार्यक्रम मात्र गर्न लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

    स्थापनाको ६४ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । निगमको ऋण दायित्व करिब रु ४७ अर्ब पुगेको बताइन्छ । वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको बताइन्छ ।

    निगम ६५ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनु भएको छ । निगमले सीमित साधन, स्रोत हुँदाहुँदै पनि यात्रुहरुलाई जुन प्रकारको सेवा प्रवाह गर्दै आएको छ, त्यसलाई सराहनीय मान्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

    यस्तै नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले समेत शुभकामना दिँदै आफ्नो संस्थागत गरिमा वृद्धिमा निगमको थप प्रयासको अपेक्षा गर्ने र सरकारबाट उपलब्ध गराउने सहयोग निरन्तर कायम राख्ने विश्वास दिलाएका छन् ।

  • देशका धेरै स्थानमा वर्षाको सम्भावना, प्रदेश १ मा भारी वर्षा हुने

    देशका धेरै स्थानमा वर्षाको सम्भावना, प्रदेश १ मा भारी वर्षा हुने

    काठमाडौँ । असार १७, देशका धेरै स्थानहरुमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार भोलि शनिबार र आइतबारसम्मै वर्षा जारी रहने छ । शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

    यस्तै आइतबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।