Author: Kamal Rana

  • गोरुको मासुसहित तीनजना पक्राउ

    गोरुको मासुसहित तीनजना पक्राउ

    चितवन । ३१ असार, जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा बिहीबार गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

  • अध्यक्ष ओलीलाई भेट्न चिनियाँ नेता लिउ बालकोटमा

    अध्यक्ष ओलीलाई भेट्न चिनियाँ नेता लिउ बालकोटमा

    काठमाडौँ । असार २८, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास, बालकोटमा नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले आज शिष्टाचार भेट गरेका छन् ।

    तस्वीर: रासस

    भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली लगायत सहभागी छन् ।

    आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्ने कार्यक्रम छ ।

    यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने अस्ति र हिजो माओवादी अध्यक्ष प्रचण्डसँग भेट भइसकेको छ ।

    नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए ।

  • जीवनमा सफलताले चिह्न छोडिरहेको हुन्छ त्यसलाई चिन्ने प्रयोस गर्नुपर्छ

    जीवनमा सफलताले चिह्न छोडिरहेको हुन्छ त्यसलाई चिन्ने प्रयोस गर्नुपर्छ

    आफ्नो योग्यता र विशेष योग्यता थाहा पाउने शुरुवात तपाईंले आफ्नो बितेको समयमा फर्केर गर्नुपर्छ । कस्तो खालको काममा तपाईंले सबैभन्दा धेरै राम्रो परिणाम र पारिश्रमिक पाउनुभएको छ ?

    जब तपाईं स्कुलमा पढ्नुहुन्थ्यो तब कुन विषय तपाईंलाई सबैभन्दा धेरै मनपर्थ्यो ? कुन विषयमा तपाईंले सबैभन्दा धेरै अंक पाउनु हुन्थ्यो ? तपाईं सधैँ यस्तो काम गर्नमा श्रेष्ठ हुन सक्नुहुन्छ जसले तपाईंलाई लोभ्याउँछ, जसले तपाईंको ध्यान तान्न सक्छ, जुन तपाईंको रुचि बन्न सक्छ र जतातिर तपाईं स्वाभाविक रुपमा तानिँदै जानुहुन्छ ।

    कुनै कुरा तपाईंको लागि ठीक छ या छैन, यो कुराको परीक्षण तपाईं आफ्नो त्यो कुरा सिक्ने चाहनाको तीव्रताबाट गर्न सक्नुहुन्छ ।

    तपाईंलाई त्यसको बारेमा पढ्न मजा आउने छ । कुरा गर्न मजा आउने छ र सिक्नमा मजा आउने छ केवल यति मात्र हैन, बरु तपाईं त्यो क्षेत्रको सबैभन्दा सफल मानिसतिर आकर्षित हुनुहुनेछ, जसको लागि तपाईं आफूलाई फिट महसुस गर्नुहुन्छ ।

    साभार : ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

  • फुटको संघारमा जसपा: भट्टराई पक्षको बैठक बस्दै

    फुटको संघारमा जसपा: भट्टराई पक्षको बैठक बस्दै

    काठमाडौँ । असार २८, जनता समाजबादी पार्टीका सङ्घीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    बैठक बिहान ११ बजे कोटेश्वरस्थित एक ब्याङ्क्वेटमा बस्न लागेको हो ।

    विभाजनको सन्निकट रहेको जसपामा भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै बैठक बोलाएका छन् । यादव पक्षको बैठक भोलिदेखि वीरगन्जमा बस्दैछ ।

    पार्टी विभाजनको औपचारिक घोषणा आज हुने स्रोतले बताएको छ । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेबारे यसअघि नै सहमति गरिसकेका छन् ।

    भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको बुझिएको छ ।

    यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भट्टराईले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका छन् । त्यसका लागि आज र भोलि भट्टराई समूहको केन्द्रीय समितिको विस्तारित बैठक बस्न लागेको हो । सोही बैठकबाट नयाँ पार्टीको घोषणा गरिने बताइएको छ ।

    दुवै समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै जसपामा फुट निश्चित भएको हो । आजको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीभित्रको अन्तरद्वन्द्व र समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने जानकारी दिइएको छ ।

    भट्टराई समूहले बैठक बोलाएपछि यादव समूहले अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गरेको छ । केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा बैठक बोलाएको उल्लेख गर्दै पार्टीको आधिकारिक बैठक वीरगञ्जमा भोलि बस्ने जनाइएको छ ।

  • डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    लमजुङ । असार २८, गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

    बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

    सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

    पहिरोले बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ । गए रातिको वर्षाले बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दाउक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन । उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।

  • भारतमा बाढीले जनजीवन प्रभावित, हालसम्म १३९ जनाको मृत्यु

    भारतमा बाढीले जनजीवन प्रभावित, हालसम्म १३९ जनाको मृत्यु

    काठमाडौँ । असार २८, भारतको गुजरात र महाराष्ट्रमा भारी वर्षासँगै आएको बाढीमा परी एक सय ३९ जनाको मृत्यु भएको छ ।

    मनसुन सक्रिय भएसँगै भारतका २० भन्दा बढी राज्यमा निरन्तर वर्षा भइरहेको छ भने गुजरातका ६ जिल्लाको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा मात्रै पछिल्लो २४ घण्टामा ६३ जनाको ज्यान गएको छ । यस्तै महाराष्ट्रमा ९ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा गत १ जुन यता बाढीमा परी ७६ जनाको मृत्यु भइसकेको छ ।

    यस्तै, मध्यप्रदेशमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ ।

    यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेललाई फोन गरेर पछिल्लो अवस्थाको जानकारी लिएका छन् । मोदीले केन्द्र सरकारको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    गुजरातका ६ जिल्लामा भारी वर्षासँगै आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । भारी वर्षाका कारण गुजरातका १७४ गाउँमा विद्युत आपुर्ति ठप्प छ । हालसम्म ९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण ३८८ सडक बन्द भएका छन् ।

    भारतीय मौसम विज्ञान विभागले पूर्र्वोत्तर राज्य असम, मेघालयपछि अब मध्यप्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ । मध्यप्रदेशका ३३ जिल्लामा भारी वर्षाको प्रभाव रहेको जनाएको छ ।