Category: राजनीति

  • सत्तारुढ दुई दल बाहेक सिंहदरबारमा दलहरूको छलफल जारी

    सत्तारुढ दुई दल बाहेक सिंहदरबारमा दलहरूको छलफल जारी

    काठमाडौं । साउन २१, संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको छलफल चलिरहेको छ ।

    सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक चलिरहेको हो ।

    बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

    बैठकको सञ्चालन गर्दै ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउन आवश्यक रहेकाले बैठक बोलाइएको जानकारी गराएका छन् ।

    बैठकमा माओवादी केन्द्रसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् ।

     

     

     

  • चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने

    चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने

    काठमाडौं । साउन २१, गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने भएको छ ।

    एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।

    आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेो बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

    सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो ।

     

     

  • जीबी राईलाई कारबाहीको दायरामा ल्याउन विश्वप्रकाशको माग

    जीबी राईलाई कारबाहीको दायरामा ल्याउन विश्वप्रकाशको माग

    काठमाडौं । साउन २१, नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको भन्दै राई पक्राउ नपरेकोमा गृहमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।

    ‘गृहमन्त्री ज्युलाई सम्माननीय सभामुख महोदय मार्फत म सोध्न चाहन्छु, सहकारी ठग कोही जेल गए तर कोही कैयौलाई अझै पनि  कारबाहीको दायरामा ल्याउनलाई ढिलाई किन भइरहेको छ ? जिबी राईका दुई थान पार्टनर जेलमा छन् तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन परिणाममा पुगेको छैन ?’, उनले भने ।

    सहकारी ठगी प्रकरण सार्वजनिक भएपछि सहकारी सञ्चालक राई फरार भएयता तीन जना गृहमन्त्री नियुक्त भएको भन्दै उनले राईलाई नेपाल झिकाउन नसक्नुलाई कूटनीतिक असफलता हो ? भन्दै प्रश्न गरेका छन् ।

    शर्माले सहकारी ठगीमा पीडित बनेका बचतकर्ताको पाँच लाखसम्मको रकम तत्काल फिर्ता गराउने प्रक्रिया अविलम्ब अगाडि बढाउन आग्रह गरेका छन् ।

    सरकारले अध्यादेश नै जारी गरेर सहकारी पीडितको पााँच लाखसम्मको रकम फिर्ता गर्ने निर्णय भएपनि किन ढिलाई भएको हो ? भन्दै प्रश्न गरेका छन् ।

  • बहुविवाहलाई वैधता दिने चर्चा झुटो भएको कानुनमन्त्रीको दाबी

    बहुविवाहलाई वैधता दिने चर्चा झुटो भएको कानुनमन्त्रीको दाबी

    काठमाडौं । साउन २१, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको बताएका हुन् ।

  • हनुमानढोका प्रहरीको पुरानो जिर्ण भएको भवन भत्काइने

    हनुमानढोका प्रहरीको पुरानो जिर्ण भएको भवन भत्काइने

    काठमाडौं । साउन २१, जिल्ला प्रहरी परिसर, काठमाडौं २०७२ सालको भूकम्प अघि बस्दै आएको हनुमानढोकाको भवन भत्काइने भएको छ । भूकम्पले जिर्ण भएको उक्त भवनमा रातो स्टिकर लगाइएको थियो ।

    काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटपछि भवन भत्काउने निर्णय भएको महानगरले जनाएको छ ।

    मेयर शाहको सचिवालयका अनुसार, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी समेत उपस्थित छलफलको मुख्य एजेन्डा हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको पुरानो भवन थियो ।

    त्यसक्रममा २ रोपनी क्षेत्रमा रहेको त्यो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

    त्यसक्रममा उक्त स्थानमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ ।

    ‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न दिन यो पोखरी निर्माण आवश्यक छ,’ मेयर शाहले भने ।

    यस्तै बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

    यसका लागि लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

    मेयर शाहलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘स्रोत साधन सम्पन्न पूर्वाधारले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउँछ । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाका लागि यस्ता भवनहरू महत्वपूर्ण छन् ।’

    बैठकमा काठमाडौं महानगर–२७ को कार्यालय हाल भोटाहिटीमा रहेको साइबर ब्युरोको भवनमा सार्न सकिने विषयमा समेत छलफल भएको छ ।

    अहिले साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माण भइरहेको छ र निर्माण सम्पन्न भएपछि वडा कार्यालय हाल ब्युरो रहेको भवनमा स्थानान्तरण गरिने विषयमा समेत छलफल भएको थियो ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ ।

    प्रहरी महानिरीक्षक दीपक थापाले भने, ‘सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक छ । महानगरसँगको सहकार्यले हाम्रा योजनाहरूलाई प्रभावकारी बनाउन सकिन्छ ।’

     

  • राप्रपा र रास्वपा संसद् आज पनि बैठकमा आफ्ना कुरा राखेर बाहिरिए

    राप्रपा र रास्वपा संसद् आज पनि बैठकमा आफ्ना कुरा राखेर बाहिरिए

    काठमाडौं । साउन २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

    भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको छ ।

    आजको बैठकमा रास्वपा सांसद समेत रहेका प्रवक्ता मनीष झा र राप्रपा सांसद रोशन कार्कीले आफ्ना कुरा राखे । लगत्तै उनीहरू बैठक छाडेर बाहिरिएका छन् ।

    सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे । साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने उनले बताए ।

    ‘हामीलाई पटकपटक नैतिकता र नालायकीपनको प्रश्न सोध्ने गरिन्थ्यो । राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,’ उनले भने, ‘यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । यो नालायकीपनको जवाफ कसले दिने ?’

    राप्रपा सांसद कार्कीले आफूहरू आन्दोलिन हुँदा किन बैठक चलाइरहेको भन्दै सभामुखलाई प्रश्न गरिन् । ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ?’, उनले प्रश्न गरिन् ।