Category: राजनीति

  • रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने रास्वपाको माग

    रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने रास्वपाको माग

    काठमाडौं । साउन २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।

    कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए ।

    कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा बनेको समितिले कुलिङ अफ पिरियडमा समिति सभापति खतिवडा समेत जिम्मेवार रहेको प्रतिवेदन मंगलबार संसदमा पेश गरेको छ ।

     

  • भूमि विधेयक पारितको प्रक्रियामा संसदीय समिति अघि बढ्यो

    भूमि विधेयक पारितको प्रक्रियामा संसदीय समिति अघि बढ्यो

    काठमाडौं । साउन २१, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने प्रक्रियामा संसदीय समिति अघि बढेको छ ।

    विधेयक संशोधन राखेका सांसदहरूसँग र सरोकारवालाहरूसँग फास्ट ट्रयाकमा एकसरो छलफल गरेर प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति दफावार छलफलमा प्रवेश गरेको हो ।

    भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आजबाट दफावार छलफल छ । यो विधेयकमा ५५ वटा संशोधन परेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसले समेत संशोधन राखेको छ ।

  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । साउन २१, प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

    आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

  • प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

    प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

    काठमाडौं । साउन २१, भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

    प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ ।

    यस्तै, भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयक छलफल सत्रको प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नेछन् । प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणा गरेका थिए ।

    लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।

    ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने सन्दर्भमा छलफल जारी छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन् ।

    भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा तेस्रो सम्मेलन भइरहेको हो ।

    सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ ।

    भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३(५ मा अस्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो ।

     

  • कुलिङ पिरियड छानबिनको प्रतिवेदन सभामुखलाई बुझाइँदै

    कुलिङ पिरियड छानबिनको प्रतिवेदन सभामुखलाई बुझाइँदै

    काठमाडौं । साउन २०, संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइएको संसद् सचिवालयले जनाएको छ ।

     

    लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाउन लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा प्रतिवेदन बुझाउने कार्यक्रम भएको छ ।

    छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कांग्रेसकै सांसद सुशीला थिङ सदस्य छिन् ।

    नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

    लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।

    यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।

     

     

     

  • विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न का प्रधानमन्त्री सिंहको निर्देशन

    विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न का प्रधानमन्त्री सिंहको निर्देशन

    काठमाडौं । साउन २०, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् ।

    बैठकमा खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’मा रहन र कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन निर्देशन दिएका थिए । साथै उनले सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए ।

    गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली लगायत सहभागी बैठकमा थिए ।

    बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।

    बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले देशभरको अवस्था र तयारीबारे जानकारी गराएका थिए ।

    जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराएका थिए । भारी वर्षा हुँदा बबई र राप्ती नदीको पश्चिम भागमा नदी किनारका बस्ती डुबानमा पर्न सक्ने सम्भावना औंल्याउँदै त्यसैअनुसारको तयारी गरिएको जानकारी गराएका थिए ।

    आज राति कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको र पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको पनि जानकारी गराइएको थियो ।

    कार्यवाहक प्रधानमन्त्री सिंहले मधेश प्रदेशमा देखिएको खडेरीको अवस्थाबारे पनि चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेशमा केही दिनयता वर्षा भइरहेको जानकारी गराउँदै रोपाइँ क्षेत्रफल बढ्न सक्ने बताए ।