Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • कमलादीमा बनेको स्काइ वाक शुक्रबारदेखि सञ्चालन आउने

    कमलादीमा बनेको स्काइ वाक शुक्रबारदेखि सञ्चालन आउने

    काठमाडौँ ।असर १३, काठमाडौंको कमलादीमा बनेको भव्य स्काइ वाक शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।

    वन्डर्स नेपालले २ अर्ब लगानी गरेर सञ्चालमा ल्याएको स्काइ वाकमा सर्वसाधारणलाई खुला गर्नका लागि सबै तयारी पुरा भएको वन्डर्स नेपालका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताए ।

    यस्ता टावरको टुप्पोमाथि स्काइ वाक अर्थात् सिसामाथि हिँड्ने साहसिक मज्जा लिन अब न्यूयोर्कको ‘द एज’ टावर पुग्नुपर्ने छैन । न त दुबई स्काइ भ्युज अब्जरभेटरी नै पुग्नुपर्ने छ ।

    त्यो अवसर अब काठमाडौंको केन्द्र भाग कमलादीमा पाइने भएको छ । वन्डर्स नेपालले निर्माण गरेको ‘स्काइ वाक’मा सिसामाथि हिँड्दा मुटु ढुकढुक हुने रोमाञ्चकता त अनुभूत हुन्छ नै, काठमाडौं उपत्यकालाई उडेको चराले हेरेजस्तै हेरेर मज्जा पनि लिन सकिनेछ ।

    स्काइ वाक गर्ने सिसा पूर्णरुपमा सुरक्षित रहेको श्रेष्ठको दाबी छ । यो स्काइ वाक निर्माण गर्दा जमिनको सतहबाट ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरु गाडेर बलियो बनाएको श्रेष्ठले बताए ।

    एडभेन्चर स्पोर्टस्, टुरिजम र रेष्टुरेन्टसहितका सुविधा भएको यति ठूलो स्काइ वाक दक्षिण एसियामै पहिलोचोटी सञ्चालनमा आएको दाबी वन्डर्स नेपालका प्रबन्ध निर्देशक श्रेष्ठले गरे ।

  • जलकुम्भीले ढकमक्क फेवाताल

    जलकुम्भीले ढकमक्क फेवाताल

    काठमाडौँ । असार १२, पछिल्लो केही दिनयता भइरहेको बर्षातपछि पोखराको फेवाताल जलकुम्भीमय भएको छ ।

    फेवाताल सिरान क्षेत्रबाट जलकुम्भी बगाएर तल्लो तटीय क्षेत्रमा ल्याएपछि फेवाताल जलकुम्भीले ढाकेको हो ।

    फेवाताल नै कुरुप हुने गरी जलकुम्भीले ढाक्दा डुंगा सयर गर्न आएका पर्यटक र व्यवसायी दुवैलाई सकसमा पारेको छ । हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ ।

    तालमा जलकुम्भी फैलिा नदिन महानगरले केही समयअघि फेवा मुहान क्षेत्रको जलकुम्भी फाल्ने अभियान सुरु गरेको थियो । तर, जलकुम्भी फाल्ने कामदारले समयमै ज्याला नपाउँदा निरन्तरता दिन नसकिएको वातावरण संरक्षणका लागि महाभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए ।

    पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले फेवातालको जलकुम्भी झार हटाउने कार्य निरन्तर रहेको बताए । उनले ताल सफाइ गर्न महाअभियान नै चलाएर जलकुम्भी हटाइने जानकारी दिए ।

     

  • पोखरामा नेपाल -चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु

    पोखरामा नेपाल -चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु

    काठमाडौं । असार ८, पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको जानकारी प्राप्त भएको छ ।

    नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे ।

    दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

    फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छ । प्रतियोगितामा प्रयोग गरिने बोटलगायतका सामग्री चीनबाट ल्याइएको थियो ।

    चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास छ ।

     

  • निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन

    निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन

    काठमाडौं । जेठ ३१, नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको जानकारी प्राप्त भएको छ । सम्मेलन २-५ असारसम्म काठमाडौं नयाँ बजारमा हुनेछ ।

     

    नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको सञ्चालन गर्दैछ ।

    नेपाली कफी माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यसक्षेत्रको समग्र मूल्य श्रृङ्खलालाई मजवुत बनाउने उपयहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले जानकारी दिए ।

    नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् ।

    सम्मेलनले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गर्ने विश्वास लिइएको छ । नेपालमा ४२ जिल्लामा कफी खेतीको सम्भावना भए पनि त्यसको आधाआधी जिल्लामामात्र व्यावसायिक खेती हुने गरेको छ ।

     

  • यस वर्षको मनसुनमा अलनिनोको प्रभावले सरदर भन्दा कम वर्षा हुने

    यस वर्षको मनसुनमा अलनिनोको प्रभावले सरदर भन्दा कम वर्षा हुने

    काठमाडौं । जेठ ३१, यस वर्षको मनसुन नेपालमा भित्रिन सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।

    आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ ।

    यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।

    अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।

    विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

     

  • आजदेखि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला

    आजदेखि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला

    काठमाडौं । जेठ १५, पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर गणतन्त्र दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिएको छ ।

    सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल किनारमा रहेको रत्नमन्दिर आजदेखि खुला गरेका हुन् ।

    रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए ।

    वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

    गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।

    गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् ।

    आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ । मुख्य राजदरबारमा फोटो खिच्न बन्देज लगाइएको छ ।