Category: ब्रेकिङ न्युज

  • शनिबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम, गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको सम्भावना

    शनिबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम, गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको सम्भावना

    काठमाडौँ । असोज ८, मनसुनी प्रणालीसँगै पश्चिमी वायु र बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण आउँदो शनिबारसम्म देशका अधिकांश भू-भागमा मौसम प्रतिकूल बन्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा भारीदेखि अति भारी वर्षा र तराईका जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना छ।

    बंगालको खाडीमा बनेको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीचबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तटीय क्षेत्र पार गरिसकेको छ। सुरुवाती अवस्थामा यसले आफ्नो तीव्रता कायम राख्दै उत्तर-पश्चिमतर्फ अघि बढ्ने र आगामी २४ घण्टाभित्र उत्तर-उत्तरपश्चिम सर्दै क्रमशः कमजोर बन्दै जाने महाशाखाले जनाएको छ। हाल यसैको प्रभावका कारण कोसी, मधेस र वाग्मतीका धेरैजसो ठाउँ, गण्डकी र लुम्बिनीका केही भू-भाग तथा कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    महाशाखाले जारी गरेको पछिल्लो मौसमी बुलेटिन अनुसार बिहीबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने देखिन्छ। आजै दिउँसो मधेस र कोसीका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ। यस्तै, बिहीबार राति यी चार प्रदेशका साथै मधेस प्रदेशका समेत एक-दुई ठाउँमा धेरै भारी वर्षा हुनसक्नेछ भने मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई भू-भागमा तीव्र हावाहुरी चल्ने आकलन गरिएको छ।

    शुक्रबारदेखि भने वर्षाको तीव्रता अझ बढ्ने महाशाखाको प्रक्षेपण छ। शुक्रबार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेषगरी गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भने ‘अति भारी’ वर्षाको चेतावनी दिइएको छ। यो क्रम शुक्रबार राति पनि जारी रहनेछ। रातिको समयमा देशभरका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुँदा गण्डकी र लुम्बिनीमा पुनः अति भारी वर्षा दोहोरिन सक्नेछ। शुक्रबार दिन र रात दुवै समय मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कोसीका तराई भेगमा हावाहुरीको प्रभाव देखिनेछ।

    शनिबार भने मनसुनी वर्षाको मुख्य प्रभाव मुलुकको पश्चिमी क्षेत्रतर्फ सर्ने महाशाखाले जनाएको छ। शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहँदा लुम्बिनी र गण्डकीका केही ठाउँमा अति भारी वर्षा हुनसक्नेछ।

    यस्तै शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको जोखिम छ। शनिबार पनि तराईका मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा हावाहुरी चल्ने पूर्वानुमान महाशाखाको छ।

  • न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँ । असोज ७, परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार दुवै नेताबीच शिष्टाचार भेटवार्ता भएको हो ।

    भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता एवं तत्काल उपलब्ध गराएको उद्धार तथा राहत सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

    भेटवार्तामा दुवै मन्त्रीहरूबीच नेपाल-भारत बहुआयामिक सम्बन्धका विविध पक्ष, द्विपक्षीय हितका विषय तथा सम्झौताहरूको प्रगतिबारे विचारविमर्श भएको थियो । सो क्रममा दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, बहुआयामिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै विकास सहकार्यका क्षेत्रहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइएको छ।

  • आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान सुरु

    आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान सुरु

    काठमाडौँ । असोज ७, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।

    २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

    अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

    अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । ‘हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,’ उनले भने ।

    फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

    पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । ‘राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौं । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,’ उनले भने ।

    दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १ सय २० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तरराष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,’ उनले भने ।

    नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

  • कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

    कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

    काठमाडौँ । असोज ७, नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

    केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ ।

    त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

    नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।

  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै

    राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै

    काठमाडौँ । असोज ६, प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लागेका हुन् ।

    vg r tप्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् । महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

     

  • त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आगो लगाएका चालकको मृत्यु, नामठेगाना खुल्न बाँकी

    त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आगो लगाएका चालकको मृत्यु, नामठेगाना खुल्न बाँकी

    काठमाडौँ । असोज ६, हिजो काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ। उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो ।

    उपचारका क्रममा चालकको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न बाँकी छ । उनको आज बिहान मृत्यु भएको हो । हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका थिए र उनको शरीको भाग धेरै नै जलेको थियो ।

    सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई गाडीबाट निकालेर कीर्तिपुर अस्पताल पुर्याएका थिए। सुरूमा उनको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले चालक दावा लामा बताएको थियो । तर, दावाले लाइसेन्सवाला दावा आफू भएको र सकुशल रहेको बताएपछि उनले लाइसेन्सको दुरूपयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।