Category: ब्रेकिङ न्युज

  • परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

    काठमाडौँ । असोज ६, संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच शिष्टाचार भेटवार्ता भएको छ।

    भेटघाटका क्रममा नेपाल र भुटानबीचको सदियौँदेखिको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै नेताहरूबीच विचार आदानप्रदान भएको छ। साथै, पर्वतीय मुलुकहरूले सामना गरिरहेको जलवायु परिवर्तनको जोखिम, बढ्दो प्राकृतिक विपद् र यसका गम्भीर असरहरूबारे विशेष छलफल भएको थियो।

    भेटमा दुवै पक्षले नेपाल र भुटान दुवै समान भौगोलिक भू-बनावट भएका हिमाली तथा पर्वतीय राष्ट्र भएकाले जलवायु परिवर्तनसम्बन्धी समस्याविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

  • आज र भोलि केही स्थानमा भारी वर्षा हुने

    आज र भोलि केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ । असोज ६, आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ। आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

    यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

    मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

    रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

     

  • रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । असोज ५, नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेर यो जानकारी दिएको हो ।

    सूचनामा उल्लेख भएअनुसार असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । चितवनमा भने मध्यम वर्षाको सम्भावना छ । गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा मापन भएको थियो । रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रंगले संकेत गरेर मौसमबारे अध्यावधिक रहन महाशाखाले भनेको छ ।

    गत भदौ १० गतेको भोटेकोशी बाढीपछि तहसनहस भएको सडक सन्जाल पुन:स्थापित गर्दै विपद व्यवस्थापनको काम चलिरहेकाले ती जिल्लामा रहेकाहरुलाई मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन भनिएको छ । वर्षाका कारण ती जिल्लाका नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको हो ।

    साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने भन्दै मौसमविद्हरूले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह पनि गरेका छन्। यसबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकमा समेत छलफल भएको थियो । सो बैठकले वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । असोज ५, सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

    यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । यसैगरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ ।

    बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले ‘सङ्क्रामक पुश रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

  • एडीबीले नेपालको तीन राजमार्ग विस्तार र सुधार गर्न ४७ अर्ब दिँदै

    एडीबीले नेपालको तीन राजमार्ग विस्तार र सुधार गर्न ४७ अर्ब दिँदै

    काठमाडौँ । असोज ४, एसियाली विकास बैंक (एडीबी)ले नेपालको तीनवटा राजमार्गको विस्तार र सुधारका लागि करिब ४७ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।

    दुईवटाको विस्तार र अर्को एक राजमार्गको सडक सुरक्षाका लागि साढे ३० करोड अमेरिकी डलर (करिब ४६ अर्ब ७० करोड रुपैयाँ) उपलब्ध गराउने भएको हो।

    उक्त रकममध्ये २८ करोड ५० लाख अमेरिकी डलर ऋण हुनेछ भने बाँकी २ करोड अमेरिकी डलर अनुदानस्वरुप प्राप्त हुने सडक विभागले जनाएको छ।

    एडीबीले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–हेटौंडा सडक खण्ड र पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्ड विस्तार तथा कर्णाली राजमार्गको सडक सुधारको लागि उक्त रकम दिन लागेको हो।

    जसमा २४ करोड ५० लाख डलर नारायणघाट–हेटौंडा सडक खण्ड र ३ करोड डलर मुग्लिङ–आँबुखैरेनी सडक खण्ड विस्तारमा खर्च गरिनेछ भने बाँकी १ करोड डलर कर्णाली राजमार्ग सुधारका लागि उपयोग हुनेछ।

    ऋण र अनुदान रकमको सम्बन्धमा नेपाल सरकार र एडीबीबीच वार्ता भइसकेको सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए। अर्थ मन्त्रालय र एडीबीबीच ऋणसम्बन्धी सम्झौता आगामी नोभेम्बरमा हुने कार्यतालिका छ।

     

  • वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी

    वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी

    काठमाडौँ । असोज ४, वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ। हरेक वर्ष हुने यस जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ ।

    दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम पनि भइरहेको छ।

    खास गरी नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाउने गरिन्छ।

    यस जात्रामा लिंगो ठड्याइन्छ। यसरी ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ।

    शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

    इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने, लडाउने गरिन्छ।