रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै
सहायात्राटीभी : मानिस जन्मनु, हुर्कनु, बढ्नु र मृत्यु हुनु एक मानिसमा हुने प्राकृतिक प्रकृया हो । संसार प्राकृतिक प्रकृयामा आधारित रहेर नै चलेको छ । मानव जीवनमा पनि अनेकौँ प्राकृतिक प्रकृयाहरु निरन्तर चलिरहेका हुन्छन् । ती मध्ये महिला रजस्वला हुनु पनि एक हो । रजस्वला सुरु भएपछि एउटी नारीमा आमा बन्न सक्ने क्षमताको विकास हुँदैछ भन्ने बुझिन्छ । साथै, रजस्वला शरीरमा भएका विकार तथा दुषित पदार्थहरु दिसा, पिसाव जस्तै रक्तश्रावको माध्यमबाट बाहिरिने प्रकृया हो । यो अवस्था एउटा कोपीला फक्राउन ठिक्क भएको अवस्था हो, मरुभुमिमा विरुवा उम्रन तयारी भएको अवस्था हो, बाँझो बारी हराभरा बन्ने संकेत हो अनि सृष्टिले निरन्तरता पाउँदै छ भन्ने आशय हो । तर यहि पवित्र प्रकृयालाई धर्मसँग जोडेर अनेक नाम, उपनाम दिइयो । विभिन्न किसिमका नियम उपनियमहरु बनाइयो अनि त्यहि धार्मिक नियमलाई डर, त्रास, विश्वास, बाध्यता र जबर्जस्ति जस्ता अनेक तरिकाबाट आजसम्म पनि पछ्याउँदै आएको छ हाम्रो समाजले । रजस्वला हुँदा गर्न हुने र नहुने अनेक धार्मिक तथा पारम्पारिक नियमहरु छन्, जसको वास्तविकता के हो, बुझ्दै नबुझि हामी त्यसलाई पछ्याइरहेका छौँ ।
यहि परम्पराले गर्दा विकट क्षेत्रका महिलाको जिवनका २० प्रतिशत दिनहरु छाउगोठमा नै वितेको छ भने गोठभित्र अनेकौँ कारणले ज्यान गुमाउने महिलाहरुका कथा पनि हाम्रै अघि प्रष्ट छन् । साथै शहरीया एवं आधुनिक ठहरिएको समाजमा पनि यो छाप मेटिन सकेको छैन । फलस्वरुप शहरिया समाजका नारीहरुले पनि रजस्वला हुँदा अशुद्धताको उपनाम पाएर एउटा सिमित क्षेत्रभित्र अटाउनुपर्ने बाध्यात्मक अवस्था आज पनि कायमै छ ।
हो, हिजोको दिनमा आजको जस्तो सेवा सुविधा थिएन्, जसले गर्दा महिनावारीको समयमा प्रयोग गर्ने सुरक्षित साधनको अभावमा जताजतै फोहोर हुने सम्भावना हुन्थ्यो । महिलाहरुले धेरै काम गर्नुपर्दा महिनावारीको समयमा गाह्रो हुन सक्थ्यो त्यस बेला गोठमा बस्नु, भान्सा, बारीको काम नगुर्नु, छोइएको खानेकुरा अरुलाई नखुवाउनु सहि हुन सक्छ, तर आज त्यो अवस्था छैन तर पनि त्यो परम्परा आज पनि परिवर्तन हुन सकेको छैन् । आज पनि छाउ गोठ भित्र नै महिला बलात्कृत भएको दुखद समाचार आइरहेकै छन् । कति अनौठो नियम छ, महिलाले अनुहार चाहिँ हेर्न नहुने पुरुषले उसबाट यौन प्यास मेटाउन चाँहि हुने ।
शिक्षित र पढेलेखेका भनिने आधुनिक समाजका मानिसको घरमा समेत सबैले एकै ठांउमा बसेर खाना खाइरहँदा रजस्वला भएकी छोरी, आमा भने ढोका बाहिर बसेर खाना खाएको दृष्य पनि देखिन छाडेका छैनन् । रजस्वला भएकी महिलालाई अपवित्र र अशुद्ध भनिरहँदा प्रश्न उठ्छ, त्यहि रजस्वला शुरु भएपछि एक महिलाका लागि सन्तान प्राप्तीको ढोका खुल्छ, फलस्वरुप यसरी जन्म भएका पुरुष महापुरुष जुनसुकै वखत पनि पवित्र हुने तर महिनावारी हुदां त्यहि महिला अपवित्र कसरी ? यसको जवाफ कस्ले दिने ? सँगै अर्को प्रश्न खडा भएको छ ।
रजस्वलासँग सम्बन्धित धार्मिक र पारम्पारिक नियमका बारेमा काठमाडौंमा भेटिएका केहि महिलाहरुसँग हामीले www.sahayatratv.com का लागि कुराकानी गर्दा धेरै महिलाहरुले परम्परादेखि चलिआएको नियम तोड्न नसक्ने र सो नियम तोडेमा आफँैलाई पाप लाग्छ भन्ने डर भएको बताए । धेरै युवतीहरुले भने घरपरिवारको कारण बाध्यताले यस्तो नियम मान्नु परेको बताए । केहि युवतीले भने यो प्राकृतिक नियम भएकाले यसलाई सकारात्मक रुपमा लिने गरेको र सफा सुग्घर भए बार्नुनपर्ने कुरा गरे र आफुहरुले पनि घरमा बार्ने नगरेको बताए । तर कुरा जब पुजापाठ र मन्दिरमा पु¥याइयो युवतीहरु केहि समय स्तब्ध भए र विस्तारै भने हो, रजस्वला सम्बन्धि बार्ने नियम अन्धविश्वास हो थाहा छ तर पनि रजस्वला भएको बेला पुजापाठ गर्न र मन्दिर पस्न भने मनले सोच्दा पनि सोच्दैन र हिम्मत पनि आउँदैन । यी युवतीहरुको भनाइबाट के प्रस्ट हुन्छ भने हाम्रा रिति भित्रका कुरिति र विकृतिले हाम्रो मनमस्तिष्कमा यति जरा गाडेको छ कि अन्धविश्वास हो भन्ने थाहा पाएर पनि हामी आफै पाइलाहरु अघि बढाउन सक्दैनौँ यस्तो कुरितिका विरुद्धमा ।
रजस्वलालाई प्राकृतिक नियम मानेर घरमा कुनै पनि नियम नमान्ने, नबार्ने महिलाहरु पनि त्यस बेला आफुलाई अपवित्र नै ठानि पुजापाठ गर्दैनन्, मन्दिर प्रवेश गर्दैनन् । तर रजस्वला हुँदा मन्दिर नजाने र जान हुँदैन भन्नेहरुलाई एउटा प्रश्न, हो हामी महिलाहरु त रजस्वला हुँदा मन्दिर नजानु रे, ठिक छ नजाउँला तर त्यहि मन्दिर भित्र बस्ने देविहरु पनि पक्कै रजस्वला त हुन्छन्, त्यसबेला ती देवीहरु चाँहि कहाँ जान्छन् ?
शारीरिक रुपमा कमजोर भएको यस्तो अवस्थामा पोसीला खानेकुराबाट वञ्चित गराइनु, गोठभित्र एक्लो पारेर राख्नु, यस्तो गर्न हुन्छ, त्यस्तो गर्न हुँदैन भनेर सिमाना लगाइदिनु केवल महिलामाथिका शारीरिक र मानसिक यातना नै हो । त्यहिँ माथि छाउ गोठभित्र पसेर जबरजस्ति करणी गरिँदाको त्यो क्षण र पिडा केवल हामी अनुमान गर्न सक्छौ, महसुस त भोग्नेलाई मात्र थाहा होला । छाउ गोठ बस्ने नियम नभएका समुदायमा पनि किशोरिहरु अनेक समस्याका कारण रजस्वला भएका कारण विद्यालय जानबाट बञ्चित भएका घटना हाम्रै नेपाली समाजमा सुन्दै र देख्दै आएका छौँ । यस्तो नियम र बन्धनबाट महिलाहरुमा शारिरीक रुपमा जति कठिन र समस्या उत्पन्न हुन्छ त्यति नै मानसिक असर समेत परिरहेको हुन्छ । आज नेपाली महिलाहरु पछि पर्नुमा हाम्रा समाजका यस्ता संकुचित धारणा र साँगुरो मानसिकता नै जिम्मेवार छ भन्दा फरक पर्दैन ।
यो विषयमा चर्चा गरिरहँदा धर्म र संस्कारमाथि प्रश्न उठाएको भने पक्कै होइन । धर्म, संस्कार, रितिरिवाज सबैले मान्नुपर्छ तर रीति भित्रका कुरिति र विकृति जसले समाजमा विषालु गोमन सर्पको काम गरिरहेको छ त्यसलाई भने समयमा नै निर्मुल पार्नुपर्छ मात्र भन्न खोजिएको हो ।
देवी, शक्ति, ममताकी खानी मानेर गर्व गरिने ति नै नारीलार्इं महिनाको चार दिनसम्म अपवित्र र अशुद्ध मानिनु पक्कै पनि सहि कुरा होइन । पवित्र र अपवित्र भन्ने कुरा त केवल मानिसको व्यवहारबाट फरक छुट्याइने कुरा हो । प्राकृतिक रुपमा शरिरबाट महिनावारीका क्रममा फोहोर रगत बहेकै आधारमा अपवित्र भन्ने हो भने त मानिस शरिरबाट पसिन बग्दा, दिसापिसाव गर्दा पनि अपवित्र र अुशुद्ध हुुनु पर्छ, होइन भने पुरुषवादी सोचले जरा गाडेर बसेको हाम्रो समाजमा यो महिलाहरुलाई सँधै पछि पार्न रचिएको एक उपाय मात्र हो ।
यो पनि पढ्नुहोस्
राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१
रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?
ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !
‘म महिला हुँ’, के म कमजोर छु ?
हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???
कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???